नरसंहार फैसलाका ‘अनुचित’ पक्ष नमान्ने : म्यान्मा


याङ्गुन, १० मङ्सिर । म्यान्माका नेता मिन आङ ह्लाइङले रोहिङ्ग्या समुदायमाथि भएको नरसंहारसम्बन्धी अन्तर्राष्ट्रिय न्यायालय (आइसीजे) को फैसलाका आफूलाई ‘अनुचित’ लागेका पक्ष कार्यान्वयन नगर्ने बताएका छन् ।

गत हप्ता आएको फैसलाबारे बुधबार आयोजित बैठकमा राष्ट्रपति ह्लाइङले म्यान्माले जिम्मेवार राष्ट्रका रूपमा उपयुक्त कदम चाल्ने तर अनुपयुक्त ठानिएका आवश्यकताहरू पालना नगर्ने बताएको सरकारी सञ्चारमाध्यम ग्लोबल न्यू लाइटले जनाएको छ ।

गाम्बियाले म्यान्माविरुद्ध दायर गरेको मुद्दालाई उनले ‘एकतर्फी आरोप’ भन्दै नरसंहारको आरोपले देशको प्रतिष्ठामा गम्भीर असर पारेको बताएका छन् । राष्ट्रको नेताका रूपमा देशमा हुने सबै घटनाको जिम्मेवारी आफूले लिने तर राष्ट्रलाई कमजोर पार्ने कुनै पनि कार्य स्वीकार नगर्ने उनको भनाइ थियो ।

आइसीजेले गत हप्ता पश्चिमी राखाइन राज्यमा सन् २०१७ मा गरिएको सैन्य दमनका क्रममा मुस्लिम रोहिङ्ग्या समुदायमाथि म्यान्माले गरेको अत्याचारसम्बन्धी प्रमाण प्रस्तुत गरेको थियो ।

अदालतले म्यान्माको सुरक्षा बलले हजारौँ रोहिङ्ग्या सर्वसाधारणको हत्या गरेको, महिलामाथि व्यापक यौन हिंसा र बालबालिकामाथि चरम हिंसा गरेको निष्कर्ष निकालेको थियो ।

पूर्वजनरल ह्लाइङले सन् २०२१ मा आङ सान सुकीको निर्वाचित सरकारलाई अपदस्थ गर्नुअघि रोहिङ्ग्या दमनका क्रममा सेनाको नेतृत्व गरेका थिए । उनलाई यस वर्ष विवादास्पद निर्वाचनपछि नागरिक राष्ट्रपति बनाइएको थियो ।

आइसीजेको ८० वर्षे इतिहासमा कुनै राज्यले नरसंहार गरेको ठहर गरिएको यो पहिलो फैसला हो ।

अदालतले रोहिङ्ग्या शरणार्थीलाई सुरक्षित रूपमा घर फर्कने व्यवस्था गर्न र क्षतिपूर्ति दिन म्यान्मालाई आदेश दिएको छ । क्षतिपूर्तिको रकम भने पछि निर्धारण गरिनेछ । साथै, नरसंहार गरेको आशङ्कामा रहेका व्यक्तिमाथि अनुसन्धान गरी सजाय दिन पनि अदालतले भनेको छ ।

आइसीजेको फैसला बाध्यकारी हुने र तिनको पुनरावेदन गर्न नसकिने भए पनि अदालतसँग आफ्ना निर्णय कार्यान्वयन गराउने प्रत्यक्ष संयन्त्र छैन । रासस