हेटौँडा, १० मङ्सिर । बागमती प्रदेश सरकारले प्रदेश स्थापनादेखि हालसम्म भएका कामको समीक्षा गरी आगामी दश वर्षको विकास खाका तयार गर्ने भएको छ ।
प्रदेश मन्त्रिपरिषद्को आज बसेको १८औँ बैठकले मुख्यमन्त्रीको संयोजकत्वमा उच्चस्तरीय निर्देशक समिति गठन गर्ने निर्णय गरेको छ ।
बैठकका निर्णय सार्वजनिक गर्दै प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री भरतबहादुर केसीले प्रदेशका १३ वटै जिल्ला, ११९ वटै स्थानीय तह र सबै वडामा प्रदेश सरकारको उपस्थिति, हालसम्म सम्पादन भएका काम तथा तिनको प्रभावबारे समीक्षा गरिने जानकारी दिए ।
समितिले प्रदेश स्थापनादेखि हालसम्म भएका कामको लेखाजोखा गरी आगामी दश वर्षका लागि रणनीतिक योजना तथा गुरुयोजना तयार गर्ने उनले बताए ।
बैठकले भोटेकोसीको बाढीबाट बाबु वा आमामध्ये कुनै एक अभिभावक गुमाएका बालबालिकालाई पनि अभिभावकत्व ग्रहण गरी अध्ययन तथा व्यवस्थापनको सुविधा उपलब्ध गराउने निर्णय गरेको छ । यसअघि प्रदेश सरकारले बाबु र आमा दुवै गुमाएका बालबालिकालाई मात्र यस्तो सुविधा उपलब्ध गराउने निर्णय गरेको थियो ।
त्यसैगरी, स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन संशोधनसम्बन्धी विधेयक प्रदेशसभामा पेस गर्ने निर्णय बैठकले गरेको छ । स्थानीय सेवामा चौथो तहका कर्मचारीको पदपूर्ति गर्न सकिने व्यवस्था मिलाउन ऐन संशोधन गर्न लागिएको प्रवक्ता केसीले जानकारी दिए ।
पाँचौँ तहदेखि मात्र पदपूर्तिका लागि विज्ञापन गर्ने विद्यमान व्यवस्थाका कारण स्थानीय तहमा अहेव, अनमी र असिस्टेन्ट सबइन्जिनियरलगायत चौथो तहका जनशक्ति पदपूर्तिमा समस्या देखिएकाले ऐन संशोधन गर्न लागिएको उनले बताए ।
बैठकले प्रदेशमा व्यवस्थित बस्ती विकास तथा जग्गा एकीकरणका कार्यक्रम सञ्चालन गर्न बस्ती विकास तथा जग्गा एकीकरणसम्बन्धी ऐन, २०८३ तर्जुमाका लागि सैद्धान्तिक सहमति प्रदान गरेको छ ।
रामेछापको मन्थली नगरपालिका–६ मा निर्माण गरिने फोहरमैला व्यवस्थापन केन्द्रका लागि आवश्यक जग्गा प्राप्त गर्न उक्त आयोजनालाई प्राथमिकताप्राप्त आयोजनाका रूपमा तोक्ने निर्णयसमेत बैठकले गरेको छ ।
प्रदेश सरकारले मालपोत कार्यालयको स्रेस्ता व्यवस्थापनलगायत कार्यका लागि विभिन्न सङ्घीय कार्यालयलाई करिब चार करोड ७० लाख बजेट उपलब्ध गराउने निर्णय गरेको छ । घरजग्गा रजिस्ट्रेसन दस्तुरबाट सङ्कलित राजस्व प्रदेश सरकारलाई समेत प्राप्त हुने भएकाले सम्बन्धित कार्यालयको व्यवस्थापनका लागि बजेट उपलब्ध गराउन लागिएको प्रवक्ता केसीले बताए ।
बैठकले पशु वधशाला र मासु जाँच ऐन, २०५५ को दफा ७ को उपदफा (१) बमोजिम प्रदेशका सबै जिल्लाका लागि मासु सुपरिवेक्षक तोक्ने तथा पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजनाको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ ।
त्यस्तै, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको कार्यबोझ व्यवस्थापन र कार्यसम्पादनलाई व्यवस्थित बनाउन एघारौँ तहको एक प्राविधिक पद थप गर्ने निर्णय भएको छ ।
उद्योग, पर्यटन तथा यातायात मन्त्रालयअन्तर्गत उद्योगतर्फका सचिव सङ्घमा सरुवा भएपछि उक्त जिम्मेवारी साविककै सचिव दीपेन्द्र सुवेदीलाई दिने निर्णय बैठकले गरेको छ ।
बैठकले रिक्त सुपरिटेन्डेन्ट इन्जिनियर पदमा तल्लो तहमा कार्यरत इन्जिनियरलाई तथा प्रदेश निजामती किताबखानाको एघारौँ तहको निर्देशक पदमा तल्लो तहमा कार्यरत कर्मचारीलाई कायममुकायम मुकरर गर्ने निर्णयसमेत गरेको प्रवक्ता केसीले जानकारी दिए ।




प्रतिक्रिया