काठमाडौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका ३ हजार ९१५ जनालाई मृत घोषणा गर्न विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले नेपाल सरकारसमक्ष सिफारिस गरेको छ।
गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा बिहीबार बसेको समितिको ३८औँ बैठकले बेपत्ताहरूलाई मृत घोषणा गर्न सिफारिस गर्ने निर्णय गरेको हो।
समितिका अनुसार मृत घोषणा गर्न सिफारिस गरिएकामध्ये ४८ जिल्लाबाट विवरण यकिन भएका ३ हजार २९२ जना नेपाली नागरिक छन्। त्यस्तै, १९ विदेशी नियोगबाट प्राप्त विवरणका आधारमा ६२३ जना विदेशी नागरिक रहेका छन्।
विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ को दफा २ को उपदफा (३) मा विपद्मा परी बेपत्ता भएका व्यक्तिलाई नेपाल सरकारले मृत घोषणा गर्न सक्ने व्यवस्था छ।
यसअघि नेपाली नागरिकका हकमा सम्बन्धित स्थानीय तहको सिफारिस र जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको निर्णयका आधारमा विवरण संकलन गरिएको थियो। विदेशी नागरिकका हकमा भने सम्बन्धित देशको नेपालस्थित नियोग वा नेपाल हेर्ने जिम्मेवारी पाएको नियोगबाट सूची माग गरिएको थियो।
त्यसरी प्राप्त विवरणमाथि दाबी तथा आवश्यक प्रक्रिया पूरा गर्न प्राधिकरणले दुई चरणमा सातदिने सूचना प्रकाशित गरेको थियो।
यसैबीच, समितिको बैठकले ‘सबैका लागि पूर्वसूचना’ राष्ट्रिय मार्गचित्र २०८३–२०८७ पनि स्वीकृत गरेको छ। सन् २०३० सम्म नेपालका सबै समुदायमा प्रकोपसम्बन्धी पूर्वसूचना पुर्याउने लक्ष्यसहित बहुप्रकोप पूर्वसूचना प्रणालीको विस्तार, स्तरोन्नति र प्रभावकारी सञ्चालन गर्ने मार्गचित्रको उद्देश्य रहेको छ।
त्यसैगरी, वन डढेलो जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय रणनीति, २०८३ एवं कार्ययोजना २०८३/८४–२०९१/९२ र वायु प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय कार्ययोजना २०८३–२०८७ समेत बैठकले स्वीकृत गरेको छ।
बैठकले विभिन्न जिल्लाका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने निर्णय पनि गरेको छ। डडेल्धुराको आलिताल गाउँपालिका–१ स्थित भोका गाउँ र माला गाउँका २४ घरधुरी तथा वडा नम्बर २ को बलौचा गाउँका २२ घरधुरीलाई सुरक्षित स्थानमा सार्न स्वीकृति दिइएको छ।
त्यस्तै, अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–७ स्थित मुडुङ्गे बस्तीका ४० घरधुरीलाई सोही स्थानीय तहको फुदवाङमा र गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित देवल गाउँका ३२ घरधुरीलाई फिलिम गाउँमा स्थानान्तरण गर्न स्वीकृति प्रदान गरिएको छ।




प्रतिक्रिया