काठमाडौँ । भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्बासी परिवारलाई खाना र खानेपानीसमेत उपलब्ध हुन छाडेको छ । वैकल्पिक आवासको व्यवस्था नगरी होल्डिङ सेन्टर खाली गर्न सरकारले दिएको निर्देशनसँगै त्यहाँ आश्रित परिवार थप संकटमा परेका छन् ।
यसअघि सुकुम्बासी परिवारलाई खाना उपलब्ध गराउँदै आएको शान्ति सेवा गृह नामक गैरसरकारी संस्थाले शुक्रबार (मंसिर ११) देखि खाना वितरण बन्द गरेको हो । सरकारको दबाबका कारण संस्थाले खाना दिन छाडेको आश्रित परिवारले आरोप लगाएका छन् ।
होल्डिङ सेन्टर खाली गर्न सरकारले दिएको समयसीमा सकिनै लाग्दा खाना र खानेपानीसमेत रोकिएपछि बालबालिकासहित केही परिवार भोकै बस्न बाध्य भएका छन् । उनीहरूका अनुसार बालबालिकालाई विद्यालय जानसमेत समस्या भएको छ ।
होल्डिङ सेन्टरमा आश्रय लिइरहेका दलमर्दन कामीले सरकारको वैकल्पिक व्यवस्थापनबिनै आफूहरूलाई हटाउन खोजिएको भन्दै असन्तुष्टि जनाएका छन् ।
यसअघि जिल्ला प्रशासन कार्यालय भक्तपुरले बुधबार (मंसिर ९) होल्डिङ सेन्टरमा लिखित सूचना टाँस गर्दै मंसिर ११ गते दिउँसो २ बजेसम्म स्थान खाली गर्न निर्देशन दिएको थियो ।
तर, आश्रित परिवारको वैकल्पिक आवास व्यवस्थापनको टुङ्गो नलाग्दै खाना र पानीसमेत बन्द भएपछि उनीहरूको दैनिक जीवन थप कष्टकर बनेको छ । सुरक्षित आवासको सुनिश्चितताबिना विस्थापित गर्न खोजिएको भन्दै यसअघि पनि विभिन्न राजनीतिक दलका नेता तथा सरोकारवालाले सरकारको निर्णयप्रति आपत्ति जनाउँदै आएका छन् ।




प्रतिक्रिया