काठमाडौँ । नेपाली सेना र संयुक्त राज्य अमेरिकाको सेनाबिच ‘शान्ति प्रयास अभ्यास–२०२६’ अन्तर्गत विस्फोटक पदार्थ पत्ता लगाउने, निष्क्रिय पार्ने र सुरक्षित रूपमा हटाउने विषयमा ज्ञान तथा अनुभव आदानप्रदान हुने भएको छ ।
अमेरिकी सेनाको प्रशान्त कमान्डका विशेषज्ञहरू यही मङ्सिर १४ देखि २१ गतेसम्म नेपाली सेनासँगको उक्त कार्यक्रममा सहभागी हुने यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ ।
नेपाली सेनाको आयोजनामा पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा सञ्चालन हुने कार्यक्रममा दुवै देशका सैन्य विशेषज्ञले विस्फोटक पदार्थ तथा उपकरण पत्ता लगाउने, निष्क्रिय पार्ने र सुरक्षित रूपमा विसर्जन गर्ने विधिबारे अनुभव साटासाट गर्नेछन् ।
कार्यक्रममा अमेरिकी सैन्य विशेषज्ञहरूले कार्यसञ्चालनको अनुभव, प्राविधिक ज्ञान र उत्कृष्ट अभ्यासबारे जानकारी गराउनेछन् । त्यसैगरी, उनीहरूले शान्ति स्थापना कार्यका क्रममा विस्फोटक पदार्थबाट उत्पन्न जोखिम व्यवस्थापनमा नेपाली सेनाले हासिल गरेको अनुभवबाट पनि सिक्ने अवसर पाउनेछन् ।
दुवै देशका विशेषज्ञले संयुक्त रूपमा अभ्यास गरी विस्फोटक पदार्थजन्य जोखिम पहिचान, व्यवस्थापन र सुरक्षित विसर्जनका लागि आवश्यक सीप अभिवृद्धि गर्नेछन् ।
यस कार्यक्रमले दुई देशबिचको सैन्य सहकार्य र तयारी क्षमता सुदृढ गर्नुका साथै शान्ति सैनिक तथा नागरिकको सुरक्षा गर्ने क्षमता अभिवृद्धि गर्ने अपेक्षा गरिएको दूतावासले जनाएको छ ।
कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले नेपाल शान्ति सैनिक योगदान गर्ने विश्वका अग्रणी मुलुकमध्ये एक रहेको उल्लेख गर्दै यस कार्यक्रमले नेपाल र अमेरिकाबीचको दीर्घकालीन रक्षा साझेदारीलाई थप मजबुत बनाउने बताए ।
विस्फोटक पदार्थ निष्क्रिय पार्ने र हटाउने विषयमा विज्ञता आदानप्रदान गर्दा दुवै देशका साथै विश्वभरका शान्ति स्थापना अभियानमा मानवीय जीवनको रक्षा गर्ने क्षमता अभिवृद्धि हुने उनको भनाइ छ ।




प्रतिक्रिया