गण्डकी, १२ मङ्सिर । सङ्घीय संसद् तथा प्रदेशसभाका सचिवहरूको शुक्रबारदेखि पोखरामा सुरु भएको अन्तरक्रिया एवं अनुभव आदान–प्रदान कार्यक्रममा व्यवस्थापिकाको भूमिकालाई बलियो र प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशसभाका सभामुख कृष्णप्रसाद धितालले प्रदेश सभाहरूले धेरै कानुन बनाए पनि कार्यान्वयन र संशोधन गर्नुपर्ने कानुनबारे समीक्षा गर्नुपर्ने बताए । व्यवस्थापिकाको भूमिकालाई कमजोर बनाउने र खुम्चाउने प्रयास हुनसक्ने भन्दै सङ्घीय संसद् र प्रदेससभाहरूले आफ्नो भूमिका बढाउनुपर्ने उनको भनाइ छ ।
कानुनलाई आफू अनुकूल ढङ्गले व्याख्या गर्न खोज्ने प्रवृत्ति देखिएकाले कानुन र संविधानको पूर्ण पालना गराउन व्यवस्थापिकाको भूमिका महत्वपूर्ण हुने सभामुख धितालले बताए । संविधानको मुख्य आधारस्तम्भ सङ्घीयता भएकाले यसको संरक्षण र संवद्र्धनमा सङ्घीय संसद् र प्रदेशसभाहरू सँगसँगै अगाडि बढ्नुपर्ने सङ्घीयताका विज्ञ खिमलाल देवकोटाले बताए ।
कार्यक्रमले प्रदेशसभाको भूमिका थप प्रभावकारी बनाउन र असल अभ्यास आदानप्रदान गर्न सघाउने उनले बताए । गण्डकी प्रदेशसभाका सचिव गोविन्द पौडेलले विधायिकी प्रक्रिया र कानुन निर्माणमा एकरूपता ल्याउँदै तिनको प्रभावकारिता परीक्षण गर्नुपर्नेमा जोड दिए । संसदीय कार्यकुशलता अभिवृद्धिका लागि अनुभव आदान–प्रदान कार्यक्रम उपयोगी हुने उनको भनाइ छ ।
कार्यक्रममा वित्तीय सङ्घीयता र स्वायत्तताको अभ्यासबारे छलफल हुने उनले बताए । सङ्घीय संसद् तथा प्रदेशसभाका सचिवहरूको नियमित संवादले आपसी समन्वय बलियो बनाउँदै विगतका घोषणापत्र कार्यान्वयनमा सघाउने सचिव पौडेलले उल्लेख गरे । गण्डकी प्रदेशसभा सचिवालयद्वारा आयोजित उक्त कार्यक्रममा सङ्घीय संसद् र सातवटै प्रदेशसभाका सचिव, कर्मचारीलगायतको सहभागिता रहेको छ ।




प्रतिक्रिया