जनताभन्दा माथि नेता होइनन्,नेता जनताको सेवक बन्नुपर्छ : गृहमन्त्री गुरुङ


सुनसरी । गृहमन्त्री सुधन गुरुङले जनताभन्दा माथि कोही पनि नरहेको भन्दै जनताको सम्मान र सेवामा समर्पित भएर काम गर्न जनप्रतिनिधि तथा राजनीतिक नेतृत्वलाई आग्रह गरेका छन्।

शनिबार इटहरीमा आयोजित तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद्को १५औँ राष्ट्रिय पार्षद् सभालाई सम्बोधन गर्दै उनले जनताबाट निर्वाचित भएर जिम्मेवारीमा पुगेका नेताहरू जनताप्रति सधैँ जवाफदेही हुनुपर्ने बताए।

जनताको मतबाट पदमा पुगेपछि उनीहरूकै सम्मान गर्न नसक्ने व्यक्तिले पुनः निर्वाचनमा उम्मेदवार बन्नुको कुनै औचित्य नरहने उनको भनाइ थियो। नेताहरू जनतामाथि शासन गर्ने नभई उनीहरूको सेवक बनेर काम गर्नुपर्नेमा उनले जोड दिए।

गुरुङले राजनीतिक आस्था र दल फरक भए पनि सबै नागरिकलाई समान सम्मान दिनुपर्ने धारणा राखे। कुनै पार्टी वा झन्डाभन्दा राष्ट्र ठूलो हुने उल्लेख गर्दै उनले यही राष्ट्रिय भावना नयाँ पुस्तामा पनि विकास गर्नुपर्ने बताए।

नेपाली जनता तथा आफ्नो समुदायले गरेको विश्वासलाई आत्मसात् गर्दै सरकार सुशासन कायम गर्न र मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउन प्रतिबद्ध रहेको उनले बताए। सुशासन र समृद्धिका लागि आवश्यक सबै प्रयास गरिने उल्लेख गर्दै उनले वर्तमान अवसरलाई इतिहासले दिएको अन्तिम अवसरका रूपमा लिएको पनि स्पष्ट पारे।