दाङ, १३ मङ्सिर । जिल्लाको देउखुरीस्थित राप्ती गाउँपालिकामा शनिबारदेखि सरकारी समर्थन मूल्यमा धान खरिद कार्य सुरु गरेको छ ।
उक्त गाउँपालिकाको कृषि शाखाको समन्वयमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, तुलसीपुरले किसानबाट धान खरिद प्रक्रिया सुरु गरेको हो ।
कम्पनीले चालु वर्षका लागि मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल रु तीन हजार ६६० निर्धारण गरेको छ । सोही मूल्यमा किसानबाट धान खरिद भइरहेको कम्पनीका शाखा कार्यालय प्रमुख शक्तिराम डाँगीले बताए । त्यस गाउँपालिकाबाट ८०० क्विन्टल धान खरिद गर्ने कोटा निर्धारण गरिएको छ ।
गाउँपालिकाका कार्यवाहक अध्यक्ष कमलापति चौधरीले किसानलाई आफ्नो उत्पादनको उचित मूल्य दिलाउने उद्देश्यले सरकारी समर्थन मूल्यमा धान खरिद कार्य सुरु गरिएको जानकारी दिए ।
कृषि प्राविधिक निर्मला गिरीका अनुसार, किसानलाई धान बिक्री गर्न सहज हुने गरी खरिद प्रक्रियालाई व्यवस्थित बनाउन कोसिस भइरहेको छ ।
यसअघि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, तुलसीपुरले देउखुरीको गढवा गाउँपालिकाका किसानबाट पनि धान खरिद गरिसकेको जनाएको छ ।




प्रतिक्रिया