काठमाडौंमै पाएन रास्वपाले उम्मेदवार, कीर्तिपुरको मेयर उठ्न विष्ट मानेनन् कार्कीलाई रविले पत्याएनन्

यी हुन रास्वपाले उम्मेदवारी नदिएको १८ ठाउँ


काठमाडौं । आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि मनोनयन दर्ता सम्पन्न भएको छ ।

आइतबार उपनिर्वाचन हुने देशभरका ४४ स्थानमा उत्साहपूर्वक उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ । यसैबीच संसद्को चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भने काठमाडौंमै उम्मेदवार नपाएपछि कीर्तिपुर नगरपालिकाको मेयरसहित १६ स्थानमा उम्मेदवार नउठाउने निर्णय गरेको छ ।

संघीय राजधानीसमेत रहेको कीर्तिपुरको उपनिर्वाचनलाई विशेष महत्वका साथ हेरिएको छ । तर,कीर्तिपुरमै रास्वपाले उम्मेदवार नभेटेपछि स्वतन्त्र व्यक्तिलाई सघाउने तयारी गरेको छ । कीर्तिपुरको मेयरमा रास्वपाले प्रदिप विष्टलाई उम्मेदवार बनाउनेगरि छलफल थालेको थियो । काठमाडौं क्षेत्र नम्बर १० समेत रहेको कीर्तिपुरमा विष्टको राम्रो प्रभाव रहेको रास्वपाका नेताहरु बताउँछन् ।

प्रतिनिधि सभा निर्वाचनमा रास्वपाले काठमाडौं–१० मा ८ हजार ७३६ मत ल्याएको थियो।काठमाडौं–१० बाट उम्मेदवार बनेका प्रदीप विष्टले कीर्तिपुर नगरपालिकामा पनि राम्रो मत ल्याउन सक्ने भन्दै उनलाई उठ्न आग्रह गरिएको थियो । तर,विष्टले उठ्न नमानेको रास्वपाले जनाएको छ ।

रास्वपाका कीर्तिपुरका पार्टी सदस्यहरूले सुरूमा उनै विष्टलाई मेयर उठ्न आग्रह गरेका थिए। तर ‘प्रतिनिधि सभामा उम्मेदवार भइसकेकाले तल नउठ्ने’ भनेर उनी तयार भएनन्। त्यसपछि रास्वपा नगर समिति सभापति रहेका जयराम कार्कीले मेयर उठ्ने इच्छा देखाएका थिए। कार्की केही समयअघि नेपाली कांग्रेस परित्याग गरेर रास्वपा प्रवेश गरेका थिए ।

कांग्रेस परित्याग गरेको र कीर्तिपुरमा रास्वपाको संगठन कमजोर भएको कारण पार्टी सभापति रवि लामिछानेकै निर्देशनअनुसार कार्कीलाई टिकट नदिईएको रास्वपा स्रोतको दाबी छ । गत वैशाखमा इलाममा भएको प्रतिनिधि सभा उपनिर्वाचनमा माओवादी त्यागेका मिलन लिम्बुलाई उम्मेदवार उठाउँदा जमानत जफत भएको भन्दै कीर्तिपुरमा सोही हविगत दोहोरिन नदिन कार्कीलाईब्याक गरिएको स्रोतले जनाएको छ ।

रास्वपाले उपनिर्वाचन हुने ४२ मध्ये २४ स्थानमा मात्रै उम्मेदवार उठाएको छ । कुनै पनि पार्टीसँग चुनावी गठबन्धन नगर्ने र सबै ठाउँमा एक्लै प्रतिस्पर्धामा उत्रने बताउँदै आएको थियो । तर, संघीय राजधानी काठमाडौंको कीर्तिपुर नगरपालिकासहित १८ ठाउँमा उसले उम्मेदवारी नदिएको हो ।

ओखलढुंगा र कैलालीको जिसस प्रमुखसहित कीर्तिपुरको मेयर, बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष र रुकुम पूर्वको पुथा उत्तरगया गाउँपालिकाको उपाध्यक्षमा रास्वपाका तर्फबाट उम्मेदवारी परेन । त्यस्तै, झापाको कन्काई नगरपालिका-६, कीर्तिपुरको वडा नम्बर १ र ४ को वडाध्यक्षमा पनि उम्मेदवार नउठाएको रास्वपाले जनाएको छ ।

सप्तरीको डाक्नेश्वरी नगरपालिका-१, ४, रौतहटको इशनाथ नगरपालिका-७, राजपुर-६ र गढीमाई-८ मा पनि उसले उम्मेदवारी दर्ता गरेन । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-५, रुकुम-पश्चिमको सानीभेरी नगरपालिका-५, बझाङ्गको सुर्मा गाउँपालिका-४ र दार्चुलाको दुहु गाउँपालिका-५ मा रास्वपाले उम्मेदवार नउठाएको जनाएको छ ।