काठमाडौं । नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले एमालेसँग १ लाख भिख मागेको टिप्पणी गरेका छन् ।
शुक्रबार एमालेले काठमाडौंमा जागरण सभाको आयोजना गरेको थियो । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा भएको जागरण सभामा फोहोर गरेको भन्दै महानगरले एक लाख जरिवानासहितको पत्र पठाएको थियो । जागरण सभा नसकिँदै जरिवानाको पत्र आएपछि आक्रोशित बनेकाबस्नेतले मेयर बालेनले भिख मागेको टिप्पणी गरेका हुन् ।
बिहीबार दरबारमार्गस्थित एमालेले गरेको जागरणसभाका क्रममा सडक तथा सडकपेटीमा जथाभाबी फोहरमैला गरी वातावरण प्रदूषण गरेको भन्दै महानगरले एमालेलाई जरिवाना तोकेको हो ।
महानगरले फोहोरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम एमालेलाई जरिवाना तोकिएको जनाएको छ ।
नेता बस्नेतले बालेनले गरेको सो निर्णयलाई सकारात्मक र नकारात्मक कोणबाट हेर्न सकिने भन्दै लेखेका छन्–
सकारात्मक : काठमाडौँमा हुने सयौं जुलुस सभा भन्दा एमालेको सभा अभूतपूर्व भयो जस कारण सफा गर्नको लागि मात्रै पनि बालेनलाई १ लाख भिख माग्न पर्यो ।
नकारात्मक : बालेनलाई यति धेरै एमाले फोबिया छ कि कुन दिन एउटा दन्ते कथामा ज्योतिषले बाघको आक्रमण बाट मर्छ भनिएको राजकुमार कोठाको कोठै थुनेर राख्दा पनि उक्त बालक उक्त राजकुमार वनको बाघलेले होइन किताबमा भएको बाघको चित्र हेरेर मृत्युवरण गरेको जस्तै बालेन पनि एमाले हेरेरै एमालेसँग डराएर सकिने अवस्थामा पुगेको छ।




प्रतिक्रिया