सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजकमा ग्लोबल बैंक


काठमाडौं, मंसिर १५ । ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल प्रिमियर लिग (एनपिएल) को टोली सुदूरपश्चिम रोयल्सबीच बैंकले मुख्य प्रायोजन गर्ने सम्झौता भएको छ । काठमाडौंमा एक कार्यक्रममाझ ग्लोबल आइएमई बैंक र सुदूरपश्चिम रोयल्सबीच सम्झौता भएको हो । ।

बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र सुदूरपश्चिम रोयल्सका तर्फबाट अध्यक्ष स्वतन्त्र प्रताप शाहले सम्झौतामा हस्ताक्षर गरेका छन् । बैंकले नेपाली क्रिकेटको समग्र विकासका लागि सुदूरपश्चिम रोयल्सलाई साथ दिएको हो ।

क्यानको आयोजनामा ८ टोलीको सहभागितामा आजदेखि पुस ६ गते सम्म एनपिएल हुनेछ । सुदूरपश्चिमको मार्की खेलाडीमा कीर्तिमानी अलराउन्डर दीपेन्द्रसिंह ऐरी छन्। मेन्टरमा अष्ट्रेलियाका ब्राड हज तथा मुख्य प्रशिक्षक राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक जगत टमाटा छन् । सुदूरपश्चिमले मंसिर १८ गते पहिलो खेल विराटनगर किंग्ससँग खेल्नेछ ।

सुदूरपश्चिमको टिममा दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, अभिनाष बोहोरा, विनोद भण्डारी , अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद , अमित श्रेष्ठ, वसन्त खत्री, ब्रान्डन मक्मलेन (स्कटल्यान्ड), सेफ अलि जेब (इंग्ल्यान्ड), स्कट कुगेलेइन (न्युजिल्याण्ड) र रोहन मुस्तफा (यूएई) रहेका छन् ।