काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजविरुद्ध ब्याटिङ गरिरहेका लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले अर्धशतक हिर्काएका छन् ।
कीर्तिपुर क्रिकेट मैदानमा टस जितेपछि चितवनका कप्तान कुशल मल्लले लुम्बिनी लायन्सलाई ब्याटिङको निम्तो दिएका थिए । ब्याटिङमा उत्रिएका रोहितले ४३ बलमा ५० रन जोड्दै अर्धशतक पूरा गरेका हुन् ।
लगातार चार खेलमा पराजित भएको लुम्बिनी आज पहिलो जितको खोजिमा छ । चितवन राइनोज अङ्क तालिकाको तेस्रो स्थानमा छ । उसले हालसम्म चार खेल खेलेको छ । तीनमा जित र एउटामा हार बेहोरेको चितवन राइनोजको ६ अङ्क छ ।
चितवन राइनोजले पहिलो खेलमा काठमाडौँ गुर्खाजलाई पाँच विकेटले तथा दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ८७ रनले हराएको थियो । तेस्रो खेलमा कर्णाली याक्ससँग ६ विकेटले हारेको चितवन राइनोजले चौथो खेलमा सुदूरपश्चिम रोयल्सलाई ३३ रनले हराएको थियो । यस्तै लुम्बिनी लायन्स चारवटै खेलमा हार बेहोर्दै अङ्क तालिकाको पुछारमा छ ।




प्रतिक्रिया