‘कांग्रेस-एमाले गठबन्धन ०८४ सम्म जानसक्छ, हाम्रा कार्यकर्तामा एमालेको सामीप्यता खोज्ने क्रम बढ्दै गयो’

पार्टी पङ्क्तिलाई एकताबद्ध नबनाउने हो भने पार्टीले गति लिन सक्दैन


काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले ०८४ सालको अम निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नगर्ने प्रस्ताव गरेका छन् ।

बुधबारबाट सुरु भएको पार्टी कमिटीको बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै आगामी निर्वाचनमा कसैको पनि वैशाखी टेक्न नहुने र एक्लै लड्ने हिम्मत राख्नुपर्ने प्रस्ताव गरिएको छ ।

‘अब नेकपा एकीकृत समाजवादी ठोस् राजनीतिक कार्यक्रमका आधारमा गरिने सहकार्य, मोर्चा वा एकता बाहेक अरु कुनै पनि गठबन्धन गर्दैन भन्ने कुरामा आफै पनि स्पष्ट हुनु पर्छ’, भुसालले आफ्नो प्रतिवेदनमा भनेका छन् ।

महासचिव भुसालले वर्तमान सत्ता गठबन्धन ०८४ सालको चुनावसम्मै जानपनि सक्ने आंकलन गरेका छन् । उनले नेकपा एमाले र नेपाली कांग्रेसको नेतृत्वकै कारणले गर्दा देशमा देखा परेको सङ्कटको दुश्चक्रलाई समाधान गर्न नसक्ने पनि जिकिर गरेका छन् ।

‘संसदीय मूल्यका हिसाबले यिनीहरु दुई ठूला पार्टीहरु मिलेर बनेका छन्, विचारका हिसाबले समाजवादी र पुँजीवादी हुन्, राजनीतिक हिसाबले अदालतको परामादेशद्वारा सरकारमा पुऱ्याईको र सरकारबाट निकालिएको पार्टीहरु हुन्, प्रवृत्तिका हिसाबले सत्ताका लागि जेसुकै गर्न तयार नेताहरु हुन् । जसले गर्दा यिनीहरुबाट मुलुकका समस्याको समाधान हुने कुनै सम्भावना छैन । यिनका भूराजनीतिक लगावका कारण पनि त्यो गर्न सक्दैनन् । यिनीहरुले अगाडि सारेको संविधान संशोधनको मुद्दाले राजनीतिक अन्तरविरोधलाई अझ बढाउने छ’ उनले भनेका छन् ।

वर्तमान संसदभित्र बन्न सक्ने गठबन्धनमध्ये अहिलेको गठबन्धन सबैभन्दा बलियो गठबन्धन भएको उनले प्रतिवेदनमा उल्लेख छ । वर्तमान सत्तँ गठबन्धनको विकल्पमा बन्ने सक्ने कमजोर गठबन्धनले पनि मुलुकलाई अझ डरलाग्दो अस्थीरता र अराजनकतातर्फ लैजान नै मद्दत गर्ने भएकाले एमाले र कांग्रेसको सत्तँ गठबन्धन ०८४ सालसम्म जानसक्ने बुझाइ भुसालको रहेको छ । ‘पुनरुत्थानवादी र पपुलिष्ट शक्तिहरुलाई एक ठाउँमा ल्याउने प्रयत्न हुन सक्छ तर तिनीहरूले ठूलै राजनीतिक पहलकदमीको नेतृत्व गर्न भने सजिलो छैन। त्यसैले सरकारको अकर्मण्यता र त्यसको विरोध सँगसँगै २०८४ सम्म यो गठबन्धन टिक्न पनि सक्छ’ उनले भनेका छन् ।

भुसालले आफ्नो प्रतिवेदनमा पार्टी देखापरेको समस्याका बारेमा पनि उल्लेख गरेका छन् ।उनले एकीकृत समाजवादीमा रहेका धेरै कार्यकर्ताहरु अहिले पनि एमालेको सामीप्यता खोज्नेक्रममा रहेको स्वीकार गरेका छन् । पार्टीको गत असारमा भएको १०औं राष्ट्रिय महाधिवेशनपछि झनै भद्रगोलको अवस्था सिर्जना भएको उनले उल्लेख गरेका छन् ।

‘महाधिवेशनपछि पार्टी जसरी अगाडि बढ्नुपर्ने थियो त्यो हुन सकेन । त्यसका लागि विभिन्न कारणहरू जिम्मेवार छन् । तर जेसुकै भए पनि त्यो कमजोरी नै हो । अहिले पार्टीमा अनेकौँ प्रकारका समस्या छन् । निराशा,हताश,अन्योल र निष्क्रियताजस्ता प्रवृत्तिहरू देखिएका छन् । जसले गर्दा कतिपयमा नेकपा एमालेसँग सामीप्यता खोज्ने,अरू कतिपयमा नेकपा माओवादीसँग नजिकिन खोज्ने र आमरुपमा अन्योलग्रस्त प्रवृत्तिहरू देखिएका छन् । पार्टी पङ्क्तिलाई एकताबद्ध नबनाउने हो भने पार्टीले गति लिन सक्दैन’ भुसालले भनेका छन्।

राजनीतिक संकट बनेर पपुलिज्म संस्थागत हुनुमा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहित पुराना पार्टीका नेताहरु जिम्मेवार रहेको उनको निष्कर्ष छ । ‘आजको अर्थराजनीतिक सङ्कटले विचाररसिद्धान्त केही पनि नमिसिएको विशुद्ध ‘नयाँ’ पपुलिष्टहरु जन्माएको छ । जुन सुकै मुलुकको पपुलिज्म पुरानो राजनीति अर्थात् पुराना पार्टीका नालायकीको घोडा चढेर आउँछ’ भूसालले लेखेका छन्, ‘अहिले त्यही भैरहेको छ । प्रधानमन्त्रीका विरुद्ध नाराबाजीका घटना त्यसकै निरन्तरता हुन् ।’