झलनाथको माधवलक्षित अभिव्यक्तिः बुढो भइसकेपनि पदमा टाँसिइरहने प्रवृत्ति देखियो


काठमाडौं, ३० मंसिर । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले अहिले पार्टीभित्र तलका कमिटीहरूमा बस्न नचाहने, माथिल्लो कमिटीमा मात्र बस्न चाहने, आफूले भनेको पद नपाए पार्टी नै छोडिदिनेजस्ता प्रवृत्ति देखापरेको टिप्पणी गरेका छन् । पार्टी स्थायी कमिटी बैठकमा सम्मानित नेता खनालले पेश गरेको प्रतिवेदनमा पार्टीभित्र विभिन्न गलत प्रवृत्ति देखा परेको उल्लेख गरेका छन् ।

पार्टी अध्यक्ष माधव कुमार नेपाललक्षित गर्दै उनले ओहोदामा पुगेपछि त्यसको दुरुपयोग गर्ने, कमिसन र भ्रष्टाचार तिर लहसिने, पद प्राप्त गरेपछि त्यसैमा टाँसिरहने, काम गर्ने क्षमता गुमे पनि, बुढो भइसके पनि पदमा टासिरहने प्रवृत्ति देखिएको टिप्पणी गरेका छन् । पार्टीको १०औं महाधिवेशनबाट सम्मानित नेता खनाल अध्यक्ष बन्न चाहन्थे । तर, माधव नेपालले अध्यक्ष नछाड्ने अडान कायमै राखेपछि उनी सम्मानित नेतामै सीमित भएका थिए ।

साथै, पार्टीका नेताहरुले पदको गरिमाअनुसार काम गर्न नसकेको, पार्टीलाई सहयोग नगर्ने तर पार्टीले सहयोग गरोस् भन्ने चाहना बढी राखेको टिप्पणी गरेका छन् । कार्यकर्ताका कुरा नसुन्ने, आफूलाई जे लाग्छ त्यहि अनुरुप गर्न खोज्ने, पद प्राप्तिका निम्ति कमिटीलाई बलिदान गर्न पनि तयार हुने, पार्टी वा कमिटीलाई आफ्नो निजी हितमा प्रयोग गर्ने, नेताहरूबीच चाप्लुसी र चुक्ली लगाउने, नीतिको भन्दा नेताको पछि लाग्ने, अरुका विचारहरु नसुन्ने, आफ्ना विचारहरू चाहिँ अरु माथि लाद्न खोज्नेजस्ता गलत कार्यशैली एकीकृत समाजवादीमा रहेको उनले औंल्याएका छन् ।

झलनाथले माधवलाई बुढोको संज्ञा दिएपनि उनी आफैं ३ वर्ष जेठो हुन् । निर्वाचन आयोगमा उपलब्ध विवरणमा झलनाथको जन्म मिति २००६ साल र माधवको जन्म मिति २००९ साल उल्लेख छ ।