अस्थिरताले देश बर्बाद भयो, प्रचण्ड भने त्यसैलाई आफ्नो विशेषता ठान्छन्ः एमाले महासचिव पोखरेल


काठमाडौं, १२ पुस । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्थिर राजनीतिमा रमाएको टिप्पणी गरेका छन् । आज (शुक्रबार) नवलपुरको गैंडाकोटमा आयोजित नेपाल उधोग तथा व्यवसायी महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रचण्डले अस्थिरतालाई नै आफ्नो विशेषता बनाएर खेल्न थालेपछि कांग्रेस–एमाले मिलेर सरकार बनाउन परेको बताए ।

प्रचण्ड आफैं ‘मलाई मान्छेले अस्थिर, ढुलमुले भन्ने गर्छन् । तर, म डाइनामिक हुँ’ भन्ने गरेको टिप्पणी गर्दै उनले भने, ‘त्यही अस्थिरताले मुलुक वर्बाद भइसक्यो । उनी आफ्नो विशेषता ठान्दछन् ।’

साथै, प्रचण्डकै कारण देश कमजोर र अस्थिरतातर्फ गएको उनको दाबी छ । महासचिव पोखरेलले ठूला–ठूला राजनीतिक दलहरुलाई ३२ सिट जितेको माओवादीले घुमाइरहँदा देश अस्थिरतातिर गएको उनको टिप्पणी छ । जनताले अस्वीकार गरेको शक्ति शासनको केन्द्रमा रहने राजनीतिबाट मुलुक ओरालो यात्रातर्फ गएको उनले दाबी गरे ।

‘आज नेपाल कमजोर किन भयो ? नेपाल अस्थिरताको शिकार किन भयो ? हामीले यसको कुनै ठूलो रिसर्च गर्नुपर्ने आवश्यकता छैन । २७५ सिट भएको प्रतिनिधि सभामा ३२ सिट ल्याएको माओवादी केन्द्रले ३२ सिट त म्याजिक नम्बर हो, यसैले ५ वर्ष शासन गर्छ भनेर हुङ्कार गर्न खोजेबाटै नेपाली समाजको राजनीतिक चरित्र के हो भन्ने बताउँदैन र ?’ प्रश्न गर्दै उनले भने, ‘ठूला–ठूला राजनीतिक दलहरुलाई ३२ सिटले घुमाइरहने, कांग्रेसको सहयोगमा प्रचण्ड प्रधानमन्त्री, एमालेको सहयोगमा प्रचण्ड प्रधानमन्त्री । कांग्रेसले अलिकति आफ्नो नीतिअनुसार सरकार चल्नुपर्छ भनेर पहल गर्यो भने कांग्रेसमात्रै छ र ? एमाले छ भनेर देखाइदिने, एमालेले आफ्नो नीतिअनुसार सरकार चल्नुपर्छ भनेर भन्यो भने एमालेमात्रै छ र ? भनेर कांग्रेस देखाइदिने ।’ File Photo/RN