काठमाडौं l बानेश्वरको मीनभवन र बबरमहलमा लिफ्टसहितको अपाङ्गमैत्री आकाशेपुल (ओभरहेड ब्रिज) बन्ने भएको छ। उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह र बागमती प्रदेश सांसद दीपेन्द्र श्रेष्ठको पहलमा बानेश्वरको मीनभवन र बबरमहलमा लिफ्टसहितको अपाङ्गमैत्री आकाशे पुल बन्ने भएको हो। उक्त आकाशेपुलले काठमाडौं जिल्ला अदालतका दुई भवन र विशेष अदालत मात्र होइन बबरमहलका दुई भूगोललाई समेत जोड्ने काम गर्ने छ। त्यस्तै मीनभवनमा बन्ने आकाशेपुलले प्रयागमार्ग र आलोकनगर जोड्ने छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग अन्तर्गतको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले प्रयागमार्ग र आलोकनगर जोड्ने र बबरमहलको दुई भाग र जिल्ला अदालतका दुई भवनमा आउन-जान सहज हुने गरी ठेक्का आह्वान गरेको छ। उक्त क्षेत्रबाट प्रतिनिधिसभामा निर्वाचित सिंहको निर्देशनमा प्रदेशसभा सदस्य श्रेष्ठ डेढ वर्षदेखि त्यो ठाउँमा आकाशेपुल हाल्न विभिन्न सरकारी निकायमा धाइरहेका थिए। उनको धाइले बल्ल मूर्त रुप लिएको छ।
मीनभवनको प्रयागमार्ग र आलोकनगर जोड्न आकाशेपुल नहुँदा अहिलेसम्म ४ दर्जन बढी नागरिकले अकालमै ज्यान गुमाइसकेका छन्। त्यहाँ थप मान्छेले ज्यान गुमाउन नपरोस् भनेर सांसद श्रेष्ठ राज्यका निकायलाई झकझक्याउन धाइरहेका थिए। सांसद श्रेष्ठको पहलले बल्ल सार्थकता पाएको छ। त्यहाँ आकाशेपुल बन्ने निश्चित भएको छ। आकाशेपुल बनेपछि त्यो क्षेत्रमा दुर्घटनामा परी ज्यान गुमाउने अवस्थाको अन्त्य हुने विश्वास गर्न सकिन्छ।





प्रतिक्रिया