काठमाडौं, १५ माघ । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य माधव सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओली सार्वजनिक कार्यक्रममा जान नसकेर बालुवाटारमा लुकेर बस्ने अवस्थामा पुगेको टिप्पणी गरेका छन् । आज (मंगलबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अहिले प्रधानमन्त्री ओलीको विपक्षमा र माओवादी केन्द्रको पक्षमा देशभर माहोल बन्दै गएको बताए ।
प्रधानमन्त्री ओलीले हिजो सूर्यविनायक नगरपालिकाको प्रशासकीय भवन उद्घाटन समारोहमा माओवादीको विरुद्धमा दिएको अभिव्यक्तिको खण्डन गर्दै नेता सापकोटाले भने,‘सार्वजनिक कार्यक्रममा जान नसकेर, स्थगित गरेर बालुवाटारमा लुकेर बसेको प्रधानमन्त्रीले माओवादी सकियो भन्न मिल्छ ? सानका साथ पूर्वदेखि पश्चिमसम्म प्रचण्डको पक्षमा जनसमर्थन र हाईहाई छ । जहाँ–जहाँ केपी ओली आउने भनिएको हो, त्यहाँ कालो झण्डा छ । यसले देखाउँदैन जनमत कता छ भनेर ?’
साथै, प्रधानमन्त्री ओलीले आफूलाई कांग्रेसको पूरापुर सहयोग छ भनेपनि परिस्थिति त्यस्तो नरहेको उनको दाबी छ । नेता सापकोटाले कफरटेबल जोनमा रहेको सरकारको डेलिभरी यस्तो नहुने दाबी गरे । अहिले अर्थतन्त्रको सबै सूचकहरु खराब अवस्थामा पुगिसकेको उनको दाबी छ । ‘कांग्रेसले पूरापुर सहयोग गरेको प्रधानमन्त्रीको डेलिभरी यही हो त ? संख्यात्मक हिसाबले उहाँहरुलाई जे कम्फरटेबल छ, कम्फरटेबल जोनमा रहेको सरकारले दिनको तीन पटक हाम्रो गठबन्धन टिक्छ भनेर भाषणमात्रै गर्ने हो कि डेलिभरी दिने हो ? अर्थतन्त्रको सूचकहरु खराब भएर आएका छन् । त्यसलाई सुधार गर्ने हो कि भाषणमात्रै गर्ने हो ? उहाँहरुको हालत के छ भन्ने कुरा हेरौंला नि ? नेपाली जनताले हेरेका छैनन् ?’ प्रश्न गर्दै उनले भने ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकार कमजोर धरातमा उभिएको कुरा पहिलो दिनदेखि भन्दै आएको पनि नेता सापकोटाले स्मरण गराए । उनले आगामी संसद्मा वर्तमान सरकारको धरातलबारे पनि प्रश्न उठाइने र यो सरकार बनेयता यसले गरेका हर्कतको बारेमा प्रश्न जोृडदार ढंगले प्रस्तुत हुने उनले बताए । ‘यो सरकार जुन जगबाट बनेको छ, यसको धरातल कमजोर छ, अपवित्र छ र यसले जनतालाई सुशासन र डेलिभरी दिन सक्दैन भन्ने कुरा डे फस्टदेखि नै हाम्रा अध्यक्ष प्रचण्डले भनिरहनु भएको छ । हामी संसद्मा यो कुरालाई फेरि उठाउँछौं । यो सरकार बनेयता यसले जे–जे हर्कतहरु गरिराखेको छ, यसको हामी सशक्त रुपमा संसद्मा तथ्य तथ्याङ्कको आधारमा प्रतिवाद गर्छौं,’– नेता सापकोटाले भने ।
साथै, वर्तमान सरकारले अध्यादेशमार्फत कानुन संशोधन गरेर लोकतन्त्रको उपहास गरेको उनको दाबी छ । नेता सापकोटाले संसद्मा जनताका जनजीविकाको सवालहरु सशक्त रुपमा उठाउने पनि बताए । ‘विधेयक ल्याएर विधि, मूल्य र मान्यताको उपहास गर्ने काम गरेको छ, त्यसको प्रतिवाद गर्छौं । जनजीविका र मूल्यवृद्धिलगायतका सवालहरु गम्भीरतापूर्वक हामी उठाउँछौं ।




प्रतिक्रिया