रवि गृहमन्त्री हुँदा बलात्कारी जोगाएको खुलासा गर्ने ज्वालालाई स्पष्टीकरण सोध्दै रास्वपा


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्य ज्वाला संग्रौलालाई स्पष्टीकरण सोध्ने भएको छ । केही दिन अघि उनले पार्टी सभापति रवि लामिछानेले गृहमन्त्री रहँदा बलात्कारका आरोपीलाई उन्मुक्ति पिदएको खुलासा गरेकी थिईन् । सो खुलासापछि रास्वपामा हंगामा मच्चिएको छ । उनलाई अनुशासन समितिले स्पष्टीकरण सोध्न लागेको स्रोतले जनाएको छ ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेकपा एमालेका नेता महेश बस्नेतले रास्वपा सभापत रवि लामिछानेलक्षित अभिव्यक्ति दिएका थिए । बस्नेतलाई लक्षित गर्दै ज्वालाले एक स्टाटस् लेखेकी थिईन् । उनले बस्नेतमाथि लाग्दै आएको बलात्कारको आरोपबारे लक्षित गर्दै उनलाई रविले जोगाएको दाबी गरेकी थिईन् ।

संग्रौलाले सुरुमा लेखेको स्टाटसमा “रवि दाइले गृहमन्त्री हुँदा जीवनदान दिएको” भन्ने वाक्यांश समावेश गरेकी थिइन्, तर केही समयमै उनले त्यो वाक्य हटाएर अर्को भिन्न सन्देश राखिन्। उनको नयाँ स्टाटसमा भनिएको छ, “एउटा बलात्कारी आज निक्कै उफ्रिँदै छ रे त साथीहरू। अहिले कुर्सी त्यस्को बाउको, त्यसपछि हाम्रो दाइको। याद गर काजी।”

पूर्व मन्त्रीसमेत रहेका एमाले नेता बस्नेतमाथि एमालेकै पूर्व नेतृले बलात्कारको आरोप लगाउँदै आएकी छन् । बस्नेतलाई कारबाही गर्न माग गर्दै माईतीघर मण्डलामा धर्ना बसिरहने उनै नेतृको समर्थनमा उभिएकी ज्वालाले बस्नेतलाई रवि गृहमन्त्री हुँदा जोगाएको र मुद्दा नचलाएको भन्दै स्टाटस् लेखेपछि अहिले रास्वपामा तरंग छाएको छ ।