भुटानी शरणार्थीलगायतका काण्डमा जनताले सरकारलाई गिज्याइरहेका छन्ः माओवादी नेता पाण्डे


काठमाडौं, १८ माघ । नेकपा (माओवादी केन्द्र) संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले नक्कली भुटानी शरणार्थी प्रकरणलगायतका विषयमा जनताले सरकारलाई गिज्याइरहेको बताएका छन् । आज (शुक्रबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘म भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ’ भनेको विषय ठीक रहेको बताए । तर, सरकार सुशासनको मामलामा गम्भीर नभएको उनको टिप्पणी छ ।

साथै, सरकारले सत्तापक्ष र प्रतिपक्षलाई विभेग गरिरहेको पनि उनले बताए । कुनै कुरामा सत्तापक्ष भयो भने काखामा राख्ने, नभए पाखामा राख्ने काम भइरहेको बताउँदै उनले सरकारले नीति, नियमका आधारमा आफ्ना कामलाई अगाडि बढाउनुपर्ने बताए ।

‘प्रधानमन्त्रीज्यूले म भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचार गर्न पनि दिन्नँ भन्नुभएको विषय एकदम ठीक छ । तर, भुटानी शरणार्थीलगायत जतिपनि काण्ठहरु भइरहेका छन्, जनताले गिज्याइरहेका छन् । हामीले. बोल्ने कुरा होईन, पुर्याउने कुरा गर्नुपर्यो । सुशासनको मामलामा सरकार जसरी जानुपर्ने हो, त्यसो गर्न सकिरहेको छैन । सरकार सत्तापक्ष र प्रतिपक्षलाई काखा र पाखा पनि गरिरहेको छ,’– उनले भने ।

महँगी नियन्त्रणलगायत जनजीविकाको कुरामा सरकारको ध्यान पुग्न नसकेको उनले बताए । सहकारी पीडित बचतकर्ताहरुको मागबारे पनि सरकार गम्भीर बन्न नसकेको र सरकारले दमनको नीति अवलम्बन गरिरहेको उनले बताए । नेता पाण्डेले समस्या आउँदा बसेर छलफलमार्फत समस्या समाधान गर्नुपर्ने ठाउँमा सरकारले नागरिकमाथि प्रहरी प्रशासन प्रयोग गरेर दमन गरिरहेको बताए । Photo By: Mukunda kalikote/Reporters Nepal