काठमाडौं, १८ माघ । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य लेखनाथ दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा तथ्याङ्कको नाममा मिथ्याङ्क पेश गरेको टिप्पणी गरेका छन् । आज (शुक्रबार) संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले प्रधानमन्त्री ओलीले संसद्मा पेश गरेको तथ्याङ्क सरासर गलत रहेको बताए । कांग्रेस–एमालेसहितको वर्तमान सरकारले छ महिनामा गरेको उपलब्धी भनेको भ्रष्ट, ठग, विचौलिया र भूमाफियाको संरक्षण रहेको उनले बताए ।
‘छ महिनाको सरकारको उपलब्धी के हो त ? प्रष्ट बुझिन्छ कि जेल जान परेको छैन, मुद्दा लागेको छैन, अनुसन्धानमा तानिनु परेको छैन । भ्रष्ट, ठग, विचौलिया, भूमाफियाहरु चैनले सास फेर्नमात्रै होईन, ऐन ल्याएरै सफाइ दिने काम भएको छ । यहीलाई सफलता मानौं । प्रधानमन्त्रीज्यूले पेश गरेको तथ्याङ्क सरासर मिथ्याङ्क छन् । उहाँले अन्तिममा मलाई गाली गर्न पनि भ्याउनु भएको छ,’– उनले भने ।
लुट्ने र लुट्न दिन प्रधानमन्त्री ओली नेतृत्वको सरकारले छ वटा अध्यादेश ल्याएको उनले बताए । अध्यादेश विचौलियामैत्री रहेको उनको दाबी छ । ‘अहिले ल्याएका छ वटै अध्यादेश यस्ता छन्, लुट्ने र लुट्न दिने अध्यादेश छन् । राम्रो देखाएर नराम्रो काम गर्ने अध्यादेशहरु छन् । यो अध्यादेश विचौलियामैत्री छ, यो अध्यादेश दलाल, भूमाफिया, भ्रष्टहरुलाई संरक्षण गर्ने उद्देश्यसहित आएको छ,’– उनले भने ।




प्रतिक्रिया