माओवादी विभाजन हुनुमा प्रचण्डको हात छः नेता खनाल (भिडिओसहित)


काठमाडौं, १९ माघ । नेकपा (माओवादी केन्द्रश) का सचिव एवं पूर्वमन्त्री चक्रपाणि खनालले सरकार गिराउने र बनाउने खेलमा आफूहरु नरहेको बताएका छन् । आज (शनिबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले परिस्थिति बदलिएको अवस्थाबाहेक वर्तमान सरकार ढालेर अर्को गठबन्धन बनाउने पक्षमा आफूहरु नरहेको बताएका हुन् । उनले आफूहरु ३ वर्ष नै प्रतिपक्षमा बस्नेगरी अगाडि बढिरहेको बताए ।

‘सरकार ढाल्छौं हामीले भनेको होईन । यो सरकार आफ्नै क्रियाकलापले रहन लायकको देखिएन भनेको हो । अहिले सरकार ढाल्ने अथवा बनाउने खेलमा माओवादी पटक्कै लाग्दैन । यो सरकारले नेतृत्व गरोस्, त्यो उसको कुरा हो । तर, हाम्रो पार्टी सरकार ढाल्ने खेलमा छैन । अब तीन वर्ष माओवादी प्रतिपक्षमै रहन्छ । परिस्थिति अर्कै ढंगले बदलिएछ भने त फरक कुरा, यो सरकार गिराउने पक्षमा हामी छैनौं,’– उनले भने ।

साथै, माओवादीले सरकार ढाल्छौं भनेर कहिले पनि नभनेको उनको दाबी छ । वर्तमान सरकार आफ्नै कारणले ढल्छ भन्ने माओवादीको निष्कर्ष रहेपनि सरकार ढाल्ने विषयमा कुरा नगरेको उनले बताए । ‘दुईवटा ठूला दलले बनाएको सरकार माओवादीले ढाल्छौं भन्दै हिँडेको छैन । हामीले भन्दै भनेनौं । यो सरकार चलिरहोस्, यी पार्टीहरु जतिदिन बढी सरकारमा रह्यो, त्यति नै फाइदा हुने माओवादीलाई हो । यो सरकार गिरोस्, ढलोस्, हाम्रो भनाइ कत्तिपनि छैन । हिजो पनि भनेको होईन, अहिले पनि भन्दैनौं,’– उनले भने ।

साथै, उनले अखिल क्रान्तिकारीभित्र विभिन्न गुटहरु देखापरेको बताए । हालै सम्पन्न अखिल (क्रान्तिकारी) को निर्वाचनमा केन्द्रीत हुँदै उनले भने, ‘विद्यार्थीभित्र चाहीँ समूहहरु देखापरे, अब सायद त्यो रहँदैन होला । चुनाव भरीलाई थियो ।’

नेता खनालले आफू कसैको गुटमा नरहेको बताए । उनले सिंगो पार्टी रहँदासम्म पार्टीमा रहने बताए । नेता खनालले प्रचण्ड गुट नभएर पार्टी रहेको दाबी गरे । माओवादी शान्ति प्रक्रियामा आएदेखि फुटेर १२÷१३ वटा पार्टीमा विभाजन भएको उनले बताए । सचिव खनालले पार्टी विभाजन हुनुमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ को हात रहेको बताए । युद्ध, पार्टी र सरकारको नेतृत्व गरेको हिसाबले पार्टी विभाजनको जिम्मा प्रचण्डले लिनुपर्ने उनको भनाइ छ ।

‘प्रचण्डलाई पनि अहिले हामी के भन्न सक्छौं भने माओवादी बनाएर विभिन्न पार्टीलाई एकीकृत गर्नेमा पनि प्रचण्डको हात हो । अहिले २०६४ पछि माओवादीमा विभाजन हुनुमा पनि प्रमुख उहाँ भएको नाताले उहाँका कमजोरीहरु रहेहोलान् । किन भनेदेखि माओवादी विभाजनमा पार्टी प्रमुख, युद्धको नेतृत्व, सरकारको नेतृत्व आदि हिसाबले उहाँको पनि कमजोरीहरु भए, नभएको होईन,’– उनले भने । File Photo/RN