पर्सा, २० माघ । खानेपानीमन्त्री प्रदीप यादवले देशभरका सामुदायिक विद्यालयमा निकट भविष्यमै निःशुल्क रूपमा शुद्ध तथा सफा खानेपानी जडान तथा वितरणको कार्य गरिने बताएका छन् ।
आज वीरगञ्ज महानगरपालिका–१३, राधेमाईस्थित साउथ जोन सेकेन्डरी स्कूलको १६ औँ वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री यादवले चाँडोभन्दा चाँडो देशभरका सामुदायिक विद्यालयमा निःशुल्क रूपमा खानेपानीका धारा वितरण र जडानका लागि गृहकार्य भइरहेको बताए ।
उनले भने, “चाँडोभन्दा चाँडो देशभरका सामुदायिक विद्यालयमा हामी निःशुल्क खानेपानीका धारा जडान तथा वितरण गर्दैछौँ । अब सामुदायिक विद्यालयमा खानेपानीका धारा जडान र वितरणमा कुनै शुल्क लाग्ने छैन । शून्य पैसामा सामुदायिक विद्यालयमा पानीका धारा जडान गरिनेछन् ।”
सामुदायिक विद्यालयहरूमा निस्शुल्क रूपमा खानेपानी जडान गर्नका लागि शिक्षामन्त्रीसँगको समन्वयमा आफूले उक्त कार्य अघि बढाइरहेको मन्त्री यादवले जानकारी दिए । सामुदायिक विद्यालयहरूमा विद्यार्थीहरूका लागि निःशुल्क खानेपानी वितरण तथा जडान गर्नका लागि शिक्षा मन्त्रालय र खानेपानी मन्त्रालयबाट सहसचिवको नेतृत्वमा टोली गठन गरिएको र उक्त टोलीले आवश्यक गृहकार्य गरिरहेको मन्त्री यादवको भनाइ थियो ।
सोही कार्यक्रममा बोल्दै मन्त्री यादवले एक वर्षभित्र २७ प्रतिशत शुद्ध खानेपानीको उपलब्धता ५७ प्रतिशतसम्म पुर्याउने लक्ष्यसहित काम भइरहेको बताए । उनले भने “दुर्गम क्षेत्रमा रहेका दाजुभाइ–दिदीबहिनीहरूले बोकेर पानी खानुपर्ने अवस्थाको अन्त्य गर्न लागि परेको छु । दातृ निकायको सहकार्यमा म यसको अन्त्य गर्छु ।”
नेपालका नागरिकसहित देशभरका सामुदायिक विद्यालयहरूमा निस्शुल्क रूपमा शुद्ध खानेपानी जडान तथा वितरण कार्य निःशुल्क रूपमा उपलब्ध गराइने कुरामा विश्वस्त रहन मन्त्री यादवले सबैलाई आग्रह गर्दै भने “मसँग काम गर्ने आँट र अठोट छ। मेरो कार्यकालमै सबै नागरिकलाई शुद्ध खानेपानी वितरण गरिनेछ ।” उ
उक्त कार्यक्रममा प्रमुख अतिथि रहेका मन्त्री यादवले अभिभावकहरूलाई विद्यालयसँग नियमित सम्पर्कमा रहन अनुरोध गरे । “आफ्ना नानीबाबुले एक वर्षमा विद्यालयमा के के गरेरु आफ्नो छोरा–छोरीको पढाइ, खेलकुद लगायतका गतिविधि कस्ता छन् ? विद्यालय व्यवस्थापनदेखि अन्य प्रशासनिक पक्ष कस्तो छ ? यी सबै विषयमा जानकारी लिनु अभिभावकको प्रमुख दायित्व हो ।” उनले भने ।
साउथ जोन सेकेन्डरी स्कूलले शिक्षामा राम्रो प्रगति गरिरहेको तथा समग्र पर्सा जिल्ला नै शिक्षामा राम्रो उन्नति गरिरहेको भन्दै मन्त्री यादवले उक्त विद्यालयका प्रिन्सिपल सरोजप्रसाद चौधरीसहित जिल्लाभरिका विद्यालयहरूलाई बधाई दिँदै अझ प्रगतिका लागि शुभकामना व्यक्त गरेका थिए ।




प्रतिक्रिया