काठमाडौं । राष्ट्रिय सभा सांसद जगप्रसाद शर्माले सरकारले हालै जारी गरेका अध्यादेश फिर्ता लिनुपर्ने बताएका छन् ।
नेकपा माओवादी केन्द्रका सांसद शर्माले आइतबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै सरकारको नियतमा खोट रहेको हुँदा तत्काल फिर्ता लिनुपर्ने माग गरेका हुन् । उनले अध्यादेशहरू सकारात्मक भए पनि यसभित्र खतरनाक विषय समावेश रहेको बताए ।
“यो अध्यादेशहरूभित्र कतिपय सकारात्मक कानुन हुँदाहुँदै पनि नियत, प्रक्रिया र विधिका हिसाबले यो गलत छ,” उनले भने, “सरकारले यो फिर्ता लिनुपर्छ । यो अध्यादेशभित्रका कानुनहरू सकारात्मक छन् । ती सकारात्मक कुराले खतरनाक कुरालाई ढाकछोप गरेका छन् ।”
सुकुम्वासीलाई जग्गा दिने विषय सकारात्मक भए पनि हदबन्दी फुकुवा गर्ने कुरा डरलाग्दो रहेको उनले बताए । भूमाफियाको हातमा सरकार गएको महसुस आफूले गरेको उनको भनाइ थियो ।
“भूमिसम्बन्धीको कुरा, सुकुम्वासीहरूलाई जग्गा दिने कुरा ल्याइएको छ, सकारात्मक कुरा हो । तर, हदबन्दी एक ढंगले फुकुवा गरेर जुन हिसाबले सुकुम्वासीलाई जग्गा दिने कुरा उठाइएको छ, साथै हदबन्दी फुकुवा गर्नेकुरा जे उठाइएको छ, त्यसले भूमाफियाहरूको हातमा यो सरकार गएको त होइन भन्ने प्रश्न उठाउन सकिन्छ,” उनले भने ।




प्रतिक्रिया