काठमाडौं । नेकपा माओवादी केन्द्रको भातृ संगठन अनेरास्ववियु (क्रान्तिकारी) का अवकाशप्राप्त सचिवालय सदस्यहरूलाई पार्टीको वैकल्पिक केन्द्रीय सदस्य बनाउन प्रस्ताव गरिएको छ ।
उपमहासचिव शक्ति बस्नेत नेतृत्वको तीन सदस्यीय कार्यदलले निवर्तमान उपाध्यक्षदेखि महासचिवसम्मलाई वैकल्पिक केन्द्रीय सदस्य बनाउन प्रस्ताव गरेको हो । आज बस्नेत नेतृत्वको कार्यदलले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएको छ ।
बस्नेतको नेतृत्वमा गठन कार्यदलमा अखिल क्रान्तिकारीका इन्चार्ज हिमाल शर्मा र तत्कालीन अध्यक्ष पञ्चा सिंह सदस्य छन् । आज अध्यक्ष प्रचण्डलाई प्रतिवेदन बुझाएको प्रतिवेदनमा विद्यार्थी नेताहरुको पार्टी तहमा जिम्मेवारी सिफारिस गरेको छ ।
उमेर हदका कारण बाहिरिएका महासचिवसम्मलाई पार्टीको वैकल्पिक केन्द्रीय सदस्य बनाउन कार्यदलले प्रस्ताव गरेको छ । ती बाहेक तलकालाई पनि आवश्यकताअनुसार जिम्मेवारी दिनुपर्ने उल्लेख छ ।
पुस १३ गते अखिल क्रान्तिकारीमा ३२ वर्ष उमेर हद लगाउने कि खुला गर्नेबारे भएको निर्वाचनमा खुला पक्षधर पराजित भएका थिए । उमेर हदका कारण झन्डै हजार जना विद्यार्थी नेताहरू बाहिरिएका थिए ।
पुरानो समितिमा १७९ जना पदाधिकारीमध्ये १३८ जना बाहिरिएका छन् । तीमध्ये अध्यक्ष पञ्चासिंह केन्द्रीय सदस्य छिन् ।




प्रतिक्रिया