अखिल क्रान्तिकारीको चुनावमा प्रचण्ड-जनार्दन आमनेसामने भएको बारे के भन्छन् अग्नि सापकोटा ?


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले नेताहरुको कार्यविभाजन गरेको छ । सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा बसेको पदाधिकारी बैठकले एक विषेश प्रदेशसहित अन्य सात प्रदेश र प्रवासका इन्चार्ज तोकिएको प्रवक्तासमेत रहेका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

यता पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई पार्टीमा जिम्मेवारी दिनेबारे नेताहरूबीच सहमति हुन नसकेपछि आज पनि जिम्मेवारी तोकिन सकेन् । प्रवक्ता सापकोटाका अनुसार पुनबारे आज कुनै पनि निर्णय भएको छैन् ।

आजको बैठकमा पूर्व उपराष्ट्रपति पुन पनि उपस्थित थिए । केही समयदेखि उनी पार्टी बैठकमा सहभागीता जनाउने गरेका छन् । उनलाई उपाध्यक्ष बनाउने प्रचण्डको तयारी छ । तर, केही नेताहरुको गम्भीर असहमतिका कारण पुनको व्यवस्थापन माओवादीमा पेचिलो बन्दै गइरहेको छ ।

प्रवक्ता सापकोटाले आजको बैठकमा हालै सकिएको पार्टीको भातृ संगठन अखिल क्रान्तिकारीको चुनावबारे पनि छलफल भएको थियो । गत साता भएको अखिलको चुनावमा गुटगत प्रतिस्पर्धा भएको थियो । सो चुनावमा अध्यक्षमा चार जना उम्मेदवार रहेपनि विषेश गरि विजय सापकोटा र हेमन्त राईबीच टक्कर परेको थियो । सापकोटालाई माओवादी अध्यक्ष प्रचण्ड र राईलाई उपमहासचिव जनार्दन शर्माको साथ रहेको चर्चा थियो । यद्यपि सापकोटाले भने सबै विद्यार्थी माओवादीका नेताहरु भएको बताएका छन् ।

‘त्यो टीकाटिप्पणी नबुझेर प्रचार गर्नुभएको होला । ती सबै अखिल क्रान्तिकारीका विद्यार्थी हुन् । सबै पार्टी संगठनमा काम गरेका विद्यार्थी नेताहरुले जितेका छन् । बाहिर टीकाटिप्पणी गरेको जस्तो होइन, पार्टी एकताबद्ध भएको छ । आज भएका सबै निर्णयहरु सर्वसम्मत भएका छन् । बाहिर भएको चर्चामा कुनै सत्यता छैन । मनोगत टीकाटिप्पणी हो । अल्प-सूचनाको आधारमा चर्चा भइरहेको छ ’ सापकोटाले भने ।