काठमाडौं, २३ माघ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफूहरुको कारण पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार आफ्नै कारणले ढलेको टिप्पणी गरेका छन् । आज (बुधबार) प्राइम टाइम्स टेलिभिजनका लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कांग्रेस हिजो प्रचण्डसँगको गठबन्धनमा पनि इमानदार रहेको र आज एमालेसँग पनि उत्तिकै इमानदार रहेको बताए । प्रचण्डले आफ्नै एमाले र रास्वपाका साथ खोज्दा अहिले कांग्रेस–एमालेसहितको गठबन्धनमा सरकार बन्न पुगेको उनले बताए ।
‘प्रचण्डजी र हामीबीचको गठबन्धन हाम्रो कारणले टुटेको होईन । हामी नचाहिने कुरामा लाग्नु हुँदैन । प्रचण्डजीले त्यो दिन म नेकपा (एमाले), रास्वपालगायतका दलसँग मिलेर सरकार बनाउँछु भनेर नजानु भएको भए, कांग्रेसले के गरेको थियो ? कांग्रेस हिजो प्रचण्डसँग गठबन्धनमा रहँदा पनि इमानदार थियो । अहिले एमालेसँगको गठबन्धनमा पनि इमानदार छ,’– उनले भने ।
वर्तमान सरकार ढल्ने भ्रममा नपर्न पनि उनले आग्रह गरे । ‘सरकार बदलिने कुरामा कोही नपर्नुस् । तर, जसरी काम भइरहेको छ, यसरीमात्रै काम गरेर हुँदैन । हामीले गति बढाउन पर्छ,’– उनले भने ।
आजको दिनसम्म कांग्रेसले मन्त्रीहरु परिवर्तन हुनेबारेमा कुनै छलफल नगरेको पनि बताए । अबको ६ महिनाभित्र मन्त्रीहरुले परिणाम देखाउन नसके पार्टीले मन्त्रीहरुलाई फिर्ता बोलाउने उनको भनाइ छ । ‘अबको तीन÷चार महिनाभित्र यो मन्त्रीले काम गर्यो भन्ने कुरा उहाँहरुले देखाउन सक्नुभयो, हाम्रो पार्टीका साथीहरुलाई महशुस गराउन सक्नुभयो भने लामो समयसम्म उहाँहरुलाई कसैले चलाउँदैन । महाशुस गराउन सक्नुभएन भने त्यो बेला पार्टीले फिर्ता बोलाउँछ ।
साथै, कांग्रेसले सरकारमा बसेर सम्पूर्ण कुराको जिम्मा लिने उनले बताए । यो सरकारले गलत गरेको खण्डमा दण्डको भागिदार पनि हुने र यसले गरेको असल कामको श्रेय पनि लिने महामन्त्री थापाले बताए । ०८४ को चुनावमा जाँदै गर्दा कांग्रेसले घोषणापत्र लिएर चुनावमा जान नहुने उनको तर्क छ । कांग्रेसले अगामी ०८४ को चुनावमा परिणाम पत्र लिएर जनताको माझ जानुपर्ने उनले बताए । कांग्रेस अहिले परीक्षामा रहेको पनि उनको टिप्पणी छ । आगामी ०८४ को निर्वाचनमा कुनै दलसँग पनि गठबन्धन र तालमेल नहुने उनले बताए ।
‘निर्वाचन अगाडि कुनैपनि दलले गठबन्धन गर्न हुँदैन । भोलि कसैले नेकपा (एमाले) सँग चुनाव अगाडि गठबन्धन गर्नुपर्छ भन्यो भने म त्यसको सबैभन्दा ठूलो विरोधी हुन्छु । चुनाव अगाडि नो गठबन्धन । चाहे चुनाव हारौं, चाहे जितौं । चुनाव जितिसकेपछि आफ्नो बहुमत पुगेन भने कोही न कोहीसँग मिलेर सरकार चलाउनुपर्छ,’– महामन्त्री थापाले भने । File Photo/RN




प्रतिक्रिया