काठमाडौं, २३ माघ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले अध्यादेश पारित गर्ने अघिल्लो दिनसम्म निर्णय सार्वजनिक गरेका छैनन्। उनले सरकारले ल्याएका अध्यादेशबारे पार्टीभित्र बृहत्त छलफल गरेपनि निर्णय–निश्कर्ष भने अझैसम्म सुनाएका छैनन् । बरु, विज्ञहरुसँग छलफल गरेर निश्कर्षमा पुग्ने भन्दै सरकारसामू दबाब बढाएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले अध्यादेश पारित गर्नको लागि सहयोग मागिरहेको सन्दर्भमा यादव भने सत्तारोहणको दाउमा छन् । उनले अध्यादेश पारित गर्न आफू निर्णायक भएपछि मधेश प्रदेशको सरकारको मुख्यमन्त्री ताकेका छन् । पार्टीको संगठन विभागको जिम्मेवारीमा ल्याएका पूर्व मुख्यमन्त्री लालबाबु राउतलाई नै मधेश सरकारको चाबी बुझाउनको लागि उपेन्द्रले अध्यादेशलाई हतियार बनाएका छन् ।
राष्ट्रियसभाबाट अध्यादेश पारित गर्नको लागि यादवको अनिवार्य साथ चाहिने भएपछि देउवाले यादवलाई तारन्तार फोन गरेका हुन् । देउवा यतिवेला पोखरामा आयोजित पार्टीको अभिमुखीकरण कार्यक्रममा व्यस्त छन् । तर, व्यस्तताको बावजुदपनि यादवसँग सम्वादमै छन् । यता, बालुवाटारले पनि यादवलाई नियमित सम्पर्क गरिरहेको छ ।
बालुवाटारले त सरकारमा सहभागी हुनको लागि यादवसमक्ष प्रस्ताव पठाईसकेको बुझिएको छ । यादवले मालदार मन्त्रालय र मधेशको मुख्यमन्त्री मागेको बताईन्छ । भोलि दुवै सदनमा अध्यादेश पारित गर्नको लागि निर्णय प्रक्रियामा लगिँदैछ । सत्ता गठबन्धनका प्रभावशाली नेताहरुले यादवले अध्यादेशको पक्षमा मतदान गर्ने दाबी गरिरहँदा यादवले नेतृत्व गरेको जसपा नेपालले भने यो समाचार तयार पार्दासम्म कुनै निर्णय लिएको छैन् ।
अध्यादेशबारे विज्ञहरुसँगको छलफलमा शीर्ष नेता राजकिशोर यादवलाई इंग्गेज गराएर अध्यक्ष उपेन्द्रले भने बालुवाटारमा सत्ताको बार्गेनिङको घोडा दौडाएको चर्चा छ । यादवले उधारो सहमति नगर्ने अडान लिएका छन् । यादवले आफ्नो पार्टी विभाजन गरेर अहिले सरकारमा भएको जसपालाई सत्ताबाट बाहिर निकाल्नको लागि समेत अहिलेको समयलाई उपयोग गर्न चाहेका छन् । प्रधानमन्त्री ओली र सिंगो एमाले पँक्ति यादवसँग सत्ता–सहकार्यको लागि सकारात्मक छ ।
उता, कांग्रेस सभापति देउवाले पनि मधेशमा पार्टीभित्रको आन्तरिक किचलोको कारण सत्ताको चाबी उपेन्द्रकै पोल्टामा पारिदिने वचन दिएको स्रोतको दाबी छ । देउवा आजै साँझ काठमाडौं आउने बताईएको छ । देउवा आएपछि उपेन्द्रलाई समेत बालुवाटारमा बोलाएर निर्णायक छलफल गर्ने कांग्रेस र एमाले नेताहरुको तयारी छ ।
विपक्षी दलहरुले भने अध्यादेश नै असफल पार्नेगरि मुभ गरेका छन् । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले उपेन्द्रसँग सम्वादको लागि माधव नेपाललाई जिम्मा दिएका छन् । यादव प्रचण्डसँग नराम्रोसँग बिच्किएका छन् । उनले अध्यादेशकै पक्षमा आफ्नो दललाई उभ्याए भने सत्ताको मोलतोलसहित उभ्याउने कुरामा मधेशवादी दलका नेताहरुपनि ढुक्क छन् ।




प्रतिक्रिया