सरकारलाई काम गर्न नदिन र भ्रम सिर्जना गर्न माओवादीले कारखाना नै चलाएको छः एमाले नेता बर्तौला


काठमाडौं, २४ माघ । नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जनता समाजवादी पार्टी (जसपा) नेपालले अध्यादेशको पक्षमा मत जाहेर गर्ने दाबी गरेका छन् । आज (बिहीबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले जसपा नेपालले अध्यादेशको पक्षमा मत जाहेर गर्दैन भनेर प्रतिपक्षी दलहरुले आर्टिफिसिएल विश्लेषण सुरु गरेको आरोप लगाए ।

‘आज सहज ढंगले अध्यादेश निर्णायर्थ पेश हुन्छ । त्यसमा कुनै कन्फ्यूजन छैन । सत्ता साझेदारीमा रहेका दलहरुबीचमा सरकारले गर्ने निर्णयमा कुनैं मतमतान्तर पनि छैन । अध्यादेश सहज ढंगबाट सजिलै हाउसबाट स्वीकृत हुन्छ । अध्यादेश स्वीकृत हुँदैन कि, सत्तारुढ दलहरुले मत जाहेर गर्दैनन् कि भन्ने आर्टिफिसियल विश्लेषणहरु भइरहेका छन् । यो कुरा उपयुक्त हो भन्ने लाग्दैन,’– उनले भने ।

जसपा नेपालले आज अध्यादेशको पक्षमा मत जाहेर गर्ने र कन्टेनको विषयमा प्रतिस्थापन विधेयकमार्फत सुधार गरिने उनले बताए । नेता बर्तौलाले एक हप्ताभित्रै प्रतिस्थापन विधेयक ल्याएर व्यवस्थापन गरिने बताए । ‘जसपा नेपाल सत्ता समीकरणमा छ । कतिपय कुराहरु प्रतिस्थापन विधेयकमा व्यवस्थित गरेर ल्याउने च्याप्टर बाँकी नै । आज अध्यादेश हाउसबाट स्वीकृत हुन्छ । एक हप्ताभित्रमा प्रतिस्थापन विधेयक ल्याउँछौं । अध्यादेशलाई अस्वीकृत होईन, प्रतिस्थापन विधेयकमा यसलाई व्यवस्थापन गर्न सकिन्छ । सत्तापक्षमा बसेर हुन्न भन्ने कुरा हुँदै हुँदैन । जसपा नेपालले मत नदिने भन्ने कुरै छैन,’– उनले भने ।

नेता बर्तौलाले प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) सहितका दलहरु सरकारको विरुद्ध भ्रम सिर्जना गर्ने काममा लागिरहेको आरोप लगाए । उनीहरुले सरकारको विरुद्धमा भ्रम सिर्जना गर्ने कारखाना नै सञ्चालन गरेको उनको दाबी छ । ‘सरकारलाई प्रतिपक्षी दलहरुले काम गर्न नदिन, भ्रम सिर्जना गर्न, मिस इन्फरमेसन र डिसइन्फरमेसनको आज प्रमुख प्रतिपक्षले कारखाना चलाइरहेका छन् । त्यो कारखाना भत्काउँदै, विधिको शासन स्थापित गर्दै हामी मुलुकको नेतृत्व गर्छौं,’– उनले भने । File Photo/RN