देउवा भेटेलगत्तै बालुवाटार पुगेका उपेन्द्रले प्रधानमन्त्री ओलीसँग राखे शर्त


काठमाडौं, २४ माघ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री केपी शर्मा अ‍ोली भेट्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर शर्तहरु राखेका छन् । बिहानमात्रै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताहरुसँग छलफल गरेका उपेन्द्र अन्तिम निर्णय लिनका लागि बालुवाटार पुगेका थिए ।

आज (बिहीबार) बस्ने जसपा नेपालको संसदीय दल बैठकले सरकारले ल्याएको अध्यादेशको पक्षमा मत जाहेर गर्ने नगर्ने निर्णय गर्ने छ
। प्रतिनिधि सभामा दुई तिहाई बहुमतको नजिक रहेको कांग्रेस–एमालेसहितको गठबन्धन सरकार राष्ट्रिय सभामा भने अल्पमतमा छ । जसपा नेपालले मत जाहेर नगर्दा अध्यादेश अस्वीकृत हुने निश्चित छ । अध्यादेशको बारेमा जसपा नेपाल रुष्ट रहेको छ । जसपाले पार्टीभित्र आन्तरिक कार्यदल बनाएर नै अध्यादेशबारे अध्ययन गरेको छ । राजकिशोर यादवको नेतृत्वमा बनेको कार्यदलले प्रतिवेदनसमेत बुझाइसकेको छ । आज बस्ने संसदीय दलको बैठकको उक्त प्रतिवेदनको आधारमा निर्णय लिने छ ।

अध्यादेशबारे निर्णय लिनुअघि उपेन्द्रले सत्तारुढ दलका शीर्ष नेताहरुलाई भेटेर आफ्नो शर्तहरु राखेका छन् । उपेन्द्रले अध्यादेशको पक्षमा मतदान गर्नका लागि मधेश प्रदेश सरकारको नेतृत्वदेखि संघीय सरकारमा समेत दाबी गरेका छन् । स्रोतका अनुसार उपेन्द्रले संघीय सरकारको गृहमन्त्रीमा च्याँखेदाउ हानेका छन् भने मधेशमा मुख्यमन्त्री माग गरेका छन् ।