विद्युत सर्ट भएर मन्त्रालयमा आगलागी भएको हुनसक्ने प्रारम्भिक निष्कर्ष, भवनको वाइरिङ चेक गर्न उर्जामन्त्री खड्काको निर्देशन


काठमाडौं, २६ माघ । सिंहदरबारस्थित खानेपानी तथा सरसफाइ मन्त्रालयमा आगलागी भएको छ । मन्त्रालय भवनको माथिल्लो तलामा आगलागी भएको हो । सिंहदरबार प्रहरीका अनुसार मन्त्रालयको चौथो तलामा आज बिहान पौने ८ बजे आगलागी भएको थियो । उक्त तलामा खानेपानी तथा सरसफाइमन्त्रीको कार्यकक्ष समेत रहेको थियो । उक्त मन्त्रालयको भवनभित्र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसमेत रहेको छ ।

आगलागीबाट खानेपानी मन्त्री प्रदीप यादवको कार्यकक्षमा पूर्ण रुपमा क्षति पुगेको बताइएको छ । विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रारम्भिक निष्कर्ष रहेको उर्जामन्त्री दीपक खड्काले बताए । आगलागीबारे बुझ्न मन्त्री खड्का विहानै सिंहदरबार पुगेका थिए ।

अगालागी पछिको अवस्थाबारे सञ्चारकर्मीहरुसँग कुराकानी गर्दैै मन्त्री खड्काले भने, ‘विद्युत सर्ट भन्ने नै छ । अहिले प्राधिकरणको टिम बोलाइएको छ । विल्डिङको वाइरिङ एकचोटी चेक गर्ने भनेको छु । डिटेल सीसी क्यामेराहरु हेरेपछि आउला । अहिले नियन्त्रणमा आइसक्यो, ठूलो क्षेति हुन पाएन । अहिले हेर्दाखेरी कार्यकक्षमा जति जे छ, एउटा कोठाको पूरै जलेको अवस्था छ ।’