काठमाडौं, २६ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष एवं पूर्वमन्त्री कमल थापाले आफ्नो पार्टी नै हिन्दु राष्ट्र र राजसंस्थाको असली संवाहक रहेको दाबी गरेका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले राप्रपा नेपाल तुलनात्मक रुपमा कमजोर र सानो भएपनि यो हिन्दु राष्ट्र र राजसंस्थाको असली संवाहक रहेको बताएका हुन् ।
‘मेरो पार्टी तुलनात्मक रुपमा सानो छ, संगठनात्मक रुपमा कमजोर छ । तर, मलाई आत्मविश्वास छ, आत्म सन्तुष्टि छ । देशभरीका राप्रपा नेपालका कार्यकर्ताहरु शीर ठाडो गरेर भन्न सकिराखेका छन्, राप्रपा नेपाल नै हिन्दु राष्ट्र र राजसंस्थाको असली संवाहक हो,’– उनले भने ।
राप्रपा नेपालका अध्यक्ष थापाले राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले राजसंस्था र हिन्दु राष्ट्रको एजेण्डा छाडिसकेको आरोप लगाए । राप्रपाको पछिल्लो महाधिवेशनपछि नेतृत्व एजेण्डाबाट विचलित भएपछि आफूले फेरि राजसंस्था र हिन्दु राष्ट्रको एजेण्डालाई अगाडि बढाएको उनले बताए । राजसंस्था र हिन्दु राष्ट्रको मान्यता नै नेपालको स्थायित्व, प्रजातन्त्रको सुदृढीकरण र मुलुकको समग्र आर्थिक विकासको आधारस्तम्भ रहेको उनले बताए । File Photo/RN




प्रतिक्रिया