कर नेपालमा दक्षिण एशियामा नै बढि हो भन्ने कुरा साँचो छ : पूर्व गभर्नर क्षेत्री


काठमाडौं, २६ माघ । पूर्व गर्भनर दीपेन्द्र बहादुर क्षेत्रीले राज्य चलाउन कर लिनुपर्ने भएपनि व्यक्तिको रुपमा तीन तहका सरकारबाट लागु गरिएका कतिपय करको विषयलाई विचार गर्नुपर्ने आवश्यकत्ता औंल्याए । उनले भने,‘राज्य चलाउन त कसर लिनुपर्छ । तर, देशमा भएका तीन तहका सरकार छन्, यी तीन तहबाट लागु गरिएका करका कुरालाई विचार गर्नुभयो भने साँच्चै नै ओहो, कसरी उम्किने हो त भन्ने रुपमा परिणत हुने सम्भावना छ ।’

आम जनता पार्टीको उपत्यका विशेष कमिटीले ‘कर आतंक कहिलेसम्म ?’ शीर्षकमा आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा आयोजना गरेको विशेष अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै  उनले संघीय सरकराले चालु आर्थिक वर्षको निम्ति १८ खर्ब ६० अर्ब, ३० करोड ३० लाखको बजेट पेश गरेकोमा झण्डै ६७.६६ प्रतिशत करबाट असुल गर्छौं भनेको पनि सुनाए । उनले भने,‘यो तथ्यांक भनेको दुई तिहाईजस्तै करबाट लिने भनेको छ, अहिले त सरकारले करको दायरामा सबैलाई ल्याउन सकेको छ भन्ने कुरापनि विचारणीय छ । अघि मैले भनेको त संघीय सरकारकोमात्रै डाटा हो । सबै हेर्दा त अलिक बढि नै हो कि भन्ने फिल हुन्छ ।’

उनले कर उठाउने तौरतरिकामा पनि प्रश्न उठाए । उनले भने,‘करको सिद्धान्तले दोहोरो कर लाग्न हुँदैन भन्ने छ । तर, एउटै आम्दानीलाई कति ठाउँमा तिर्नुपर्छ । कर नेपालमा दक्षिण एशियामा नै बढि हो भन्ने कुरा साँचो छ ।’