काठमाडौं, २६ माघ । नेकपा (एकीकृत समाजवादी) का नेता एवं प्रतिनिधि सभा सदस्य मेटमणि चौधरीले अध्यादेशको पक्षमा मत जाहेर नगर्न जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवलाई आग्रह गरेका छन् । आज (शनिबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले संविधान, कानुनको धज्जी उडाउँदै स्वार्थ समूहलाई पोस्ने उद्देश्यले आएको अध्यादेशको पक्षमा मत जाहेर नगर्न आग्रह गरेका हुन् ।
उनले तत्कालीन अवस्थामा केपी ओलीकै सक्रियतामा जसपा नेपाल विभाजन गरिएको पनि दाबी गरे । नेता चौधरीले जसपा नेपाल विभाजनमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कुनै हात नरहेको दाबी गरे । ‘सरकार प्रचण्डको तर ओलीलाई सहयोग गर्ने कुरा भयो । प्रदीप यादवलगायतको टिम, त्यसपछि न पार्टी विभाजन भएको हो । प्रचण्डले पार्टी विभाजन गराएको होईन नि त,’– उनले भने ।
तर, उपेन्द्र यादवले संघीय सरकारको स्वास्थ्यमन्त्री र मधेश प्रदेशको मुख्यमन्त्रीमा बार्गेनिङ गरिरहेको आफूले सुनेको उनले बताए । आफ्नो पार्टीको सिद्धान्त र नैतिकता सत्तासँग नसाट्न उपेन्द्रलाई उनको सुझाव छ । ‘उहाँले त स्वास्थ्यमन्त्री दिएपछि म सहयोग गर्छु भनिराख्नु भएको छ । अब स्वास्थ्यमन्त्री दिने हो कि नाई ? मुख्यमन्त्री दिएपछि सहयोग गर्छु भनिराख्नु भएको छ । अब त्यो के हुन्छ ? उपेन्द्र यादवसँग ठीक, बेठीक भन्दा पनि कुर्सीसँग साट्ने कुरा हुन्छ नि त उहाँको कुरा त । सधैभरी उहाँको पद साट्ने कुरा, मतदान गर्ने कुरा के प्राप्ति हुन्छ, त्यसैमा निर्भर गर्छ ,’– उनले भने ।
संसद् चल्ने बेलामा अध्यादेश ल्याउने कुरा बेठिक, असंवैधानिक र गैरकानुनीसमेत रहेको उनको दाबी छ । उनले अध्यादेश बेठीक तरिकाले, बेठीक मौसममा आएको बताए । अध्यादेशभित्रका कन्टेनपनि विचौलिया पोस्ने खालको रहेको उनको दाबी छ । आफूहरुले अध्यादेशलाई अस्वीकार गर्ने पनि नेता चौधरीले सुनाए ।




प्रतिक्रिया