काठमाडौं । हमासद्वारा अपहरण गरिएका नेपाली विद्यार्थी विपिन जोशीको शीघ्र रिहाइका लागि प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले अरब संसद्का अध्यक्ष मोहम्मद अहमद अल–यमाहीलाई बिहीबार एक पत्र लेखेको विषय सार्वजनिक भयो । तर, यो पहल सफल बनाउन पर्दा पछाडि एउटा महत्त्वपूर्ण कडी छ । त्यो हो दुबईमा रहेका युवा व्यवसायी रिजवान आलमको सक्रियता ।
जब नेपाल सरकारले विपिन जोशीको रिहाइका लागि अन्तर्राष्ट्रिय कूटनीतिक मार्गहरू खोज्न थाल्यो, त्यही बेला रिजवान आलमको नाम अगाडि आयो । रिजवान आलम लामो समयदेखि अरब मुलुकहरूसँग सम्बन्धित छन् र त्यहाँका उच्च अधिकारीहरूसँग राम्रो सम्बन्ध राख्छन्।
नेपालका केही उच्च सरकारी अधिकारीहरूले रिजवान आलमलाई हमाससँग वार्ता गर्न मद्दत गर्न आग्रह गरे। रिजवान आलमले तत्कालै आफ्नो प्रभाव प्रयोग गर्दै अरब संसदका अध्यक्ष मोहम्मद अहमद अल(यमाहीसमक्ष यो मुद्दा उठाए । रिजवानको पहलपछि अल(यमाहीले नेपाल सरकारलाई सुझाव दिए । यदि नेपाल सरकारले आधिकारिक रूपमा अनुरोध पठायो भने हमाससँग वार्ता गर्न अझ सरल हुनेछ ।
त्यसपछि नै नेपालका सभामुख देवराज घिमिरेले अल–यमाहीलाई आधिकारिक पत्र लेखेका हुन् । अब सबैको नजर अरब संसदका अध्यक्ष मोहम्मद अहमद अल–यमाहीको निर्णयमा छ । यदि उनको पहलेले सार्थकता पायो भने विपिन जोशी छिट्टै हमासको कब्जाबाट मुक्त हुन सक्ने सम्भावना बलियो देखिन्छ।





प्रतिक्रिया