सरकारले गलत नियत राखेर अध्यादेश ल्याएको छ, हामी सहयोग गर्दैनौंः माओवादी नेता तामाङ (भिडिओसहित)


काठमाडौं, २७ माघ । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्री हितबहादुर तामाङले भूमिसम्बन्धी अध्यादेशमा सरकारको नियत खराब रहेको बताएका छन् । आज (आइतबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले विचौलियाहरुलाई पोस्न भूमिसम्बन्धी अध्यादेश ल्याएर कानुन संशोधन गरिएको आरोप लगाएका हुन् । मन्त्री, प्रधानमन्त्रीदेखि लिएर नेताहरुले स्वार्थ पूरा गर्नका लागि विचौलियाहरुसँग सेटिङ गरेको र त्यहाँ ठूलो कमिसनको खेल चल्ने निश्चित देखिएको उनले बताए ।

अध्यादेशको बारेमा कन्टेन सम्पूर्ण रुपले खराब हो भन्ने पक्षमा माओवादी नरहेको पनि उनले बताए । तर, सार रुपमा अध्यादेश गलत प्रक्रियाबाट आएको उनको दाबी छ । भूमिसम्बन्धी अध्यादेश भूमिहीनलाई जग्गा प्रदान गर्ने भन्दा पनि दलाल र माफियाहरुको हातमा जमिन दिनेगरी आएको बताए । ‘सार रुपमा भन्दाखेरी प्रक्रिया गलत छ । सरकारलाई ऐन संशोधन गर्न जरुरी परेको थियो भने १÷२ हप्ता अगाडि संसद् बोलाइदिएको भएपनि हुन्थ्यो । सरकारको टाउको दुखाइको कुरा पनि हुँदैन थियो । संसद् बोलाउन सक्ने विद्यामान अवस्था हुँदाहुँदै पनि नेपालको संविधानको व्यवस्थालाई लत्याएर, लोकतान्त्रिक मुलुकको सार्वभौम संसद्को कार्यक्षेत्रमाथि हस्तक्षेप गरेर अध्यादेश ल्याउनु नियत खराब छ,’– उनले भने ।

केपी ओली नेतृत्वको अघिल्लो सरकारले ल्याएको गिरीबन्धु टी स्टेटसम्बन्धी व्यवस्थालाई प्रश्रय दिनेगरी अहिलेको भूमिसम्बन्धी अध्यादेश आएको उनले बताए । साथै, उनले भूमिसम्बन्धी अध्यादेश पारित योग्य नरहेको र पारित गर्न आफूहरु तयार नरहेको बताए । माओवादीको तर्फबाट अस्वीकार प्रस्ताव दर्ता भइसकेको उनले बताए ।

नेता तामाङले आफूहरुले वर्तमान सरकार ढाल्ने कुरा कहिल्यै पनि नगरेको बताए । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकार सत्तारुढ दलभित्रकै अन्तरविरोधले ढल्छ भनेको उनले सुनाए । अहिले आफूहरु सरकार ढाल्ने र सत्तामा जाने पक्षमा नरहेको उनले बताए ।

‘यो सरकार ढाल्छु त अध्यक्ष प्रचण्डले कहिले पनि भन्नुभएको छैन । यो आफैं ढल्छ, सरकरमा सहभागी दलहरुबीचको अन्तरविरोधहरु बाहिर देखिएका छन् । प्रधानमन्त्रीको कार्यशैली, पछिल्लो चरणमा अध्यादेश ल्याउने काममा पनि सत्तारुढ दलबीच कुरा मिलेको देखिएन । यसबाहेक अन्य सार्वजनिक महत्वको विषयमा पनि कुराकानी मिलेको देखिएन । अन्ततः यो टिक्नेजस्तो देखिँदैन । आफैं ढल्छ, हामी ढाल्ने काममा पटक्कै लाग्दैन भनेर अध्यक्षले भनिसक्नु भएको छ,’– उनले भने ।