अमरेशले उठाए समावेशिताको कुरा, ओलीमाथि बाहुनमात्रै बोकेको र शेरबहादुरमाथि सुदूरपश्चिमका क्षेत्री बोकेको आरोप


काठमाडौं, २७ माघ । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले कांग्रेस र एमाले मिल्नेबित्तिकै मधेशी, दलित, आदिवासी, जनजाति सबैको समावेशिता नाश भैरहेको गम्भीर आरोप लगाएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद सिंहले स्वास्थ्यमन्त्री प्रदीप पौडेलको कार्यशैलीलाई लिएर गम्भीर प्रश्न उठाए ।

उनले भने,‘अहिलेका स्वास्थ्यमन्त्री प्रदीप पौडेल मेरो विद्यार्थी पनि हो, मैले उहाँलाई अस्कलमा पढाएको हुँ, उहाँले कसम खानुभएको छ कि स्वास्थ्य मन्त्रालयमा बाहुनबाहेक अरु कोहीपनि मधेशी, दलित, जनजाति शाखा प्रमुख, डिजी या कोही सचिव बन्न पाउँदैन । उता, प्रधानमन्त्रीले कसम खानुभएको छ कि झापाबाहेक अरु मान्छेलाई म दिन्नँ ।’

उनले अहिले दर्जनौं सहसचिवहरु सचिवको लाईनमा भएपनि कसैलाई सचिव नबनाईएको भन्दै आक्रोश पोखे । उनले कांग्रेस सभापति शेरबहादुर देउवाले सुदूरपश्चिममात्रै खल्तीमा बोकेर हिँडेको आरोप लगाए । उनले भने,‘अहिले दर्जनौं मधेशी सहसचिवहरु सचिवको लाईनमा छन्, तर सचिव बनाइएको छैन । किनकी प्रधानमन्त्रीको खल्तीबाट बाहुनबाहेक अरुको नाम निस्किँदैन् । शेरबहादुरजीको खल्तीबाट सुदूरपश्चिमबाहेक अरुको नाम निस्किँदैन्, त्योपनि क्षेत्री हुनुपर्यो ।’ राजदूत बनाउँदापनि सरकारले समावेशिता अनपनाएको भन्दै सिंहले आक्रोश पोखे ।