काठमाडौं, २८ माघ । जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले सरकारले ल्याएको भूमिसम्बन्धी अध्यादेशमा कुनियत रहेको दाबी गरेका छन् । आज (सोमबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले उक्त अध्यादेश आम जनताको हितमा नरहेको बताएका हुन् । नेता त्रिपाठीले यस अध्यादेशले सार्वजनिक जग्गा, राष्ट्रिय निकुञ्ज, संरक्षित क्षेत्र, वन क्षेत्रभित्रको जग्गा अतिक्रमित हुने बताए ।
‘यो अध्यादेश आम जनताको लागि हुँदै होईन । यो कृषिको लागि होईन, भूमिको लागि हो । पहिले–पहिले सार्वजनिक जग्गा, राष्ट्रिय निकुञ्ज, संरक्षित क्षेत्र, वन क्षेत्रभित्रको जग्गा विक्रिवितरण गर्न, बाँड्न रोक थियो ।’ नेता त्रिपाठीले भने, ‘तर, यसले चाहीँ खोलिदिएको छ । यसले जटिल स्थिति उत्पन्न गराउने नै छ । अर्को डरलाग्दो कुरा के छ भने घरजग्गा व्यवसाय गर्नेलाई हदबन्दी छुटको कुरा गरेको छ । यसले कता तान्छ ?’
अध्यादेशबाट संशोधन गरिएको कानुनको प्रावधानले हदबन्दी छुटको दुरुपयोग हुने उनले बताए । नेता त्रिपाठीले केही व्यवसायीहरुलाई मध्यजनर गरेर अध्यादेश ल्याइएको र अढाइ/तीन सय व्यवसायीले यसबाट अत्याधिक लाभ लिने निश्चित रहेको उनले बताए । अहिले अध्यादेश जारी भएसँगै काम सुरु भइसकेको र भूमाफियाहरुले लाभ लिन थालिसकेको उनले बताए । भूमिहीन र सुकुम्बासी अहिलेको सरकारको क्रियाकलापबाट पछि गर्ने निश्चित रहेको उनको दाबी छ ।




प्रतिक्रिया