कूटनीति सडकमा गर्ने विषय होईन, यही कारणले भारतसँग प्रधानमन्त्री ओलीको व्यक्तिगत सम्बन्ध राम्रो भएनः परराष्ट्रविज्ञ डा.कर्ण (भिडिओसहित)


काठमाडौं, २८ माघ । परराष्ट्र मामिलाका जानकार एवम् पूर्वराजदूत डा.विजयकान्त कर्णले नेपाल–भारतको सम्बन्ध सुमधुर रहेको बताएका छन् । आज (सोमबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले यस्तो बताएका हुन् । नेपाल र भारतको बीचमा विभिन्न चरणमा अनाहकका कुराहरु निकाल्ने काम भइरहँदा पनि सरकारी तबरको सम्बन्ध सुमधुर रहेको बताएका छन् ।

डा.कर्णले पछिल्लो समय उर्जाको क्षेत्रमा पनि नेपाल र भारतबीच अत्यन्त सकारात्मक पहल भइरहेको बताए । ‘नेपाल–भारतको सम्बन्ध अहिले मैले हेर्दाखेरी राम्रो नै देख्छु । उर्जाको क्षेत्रमा नेपाल र भारतबीच अहिले केही वर्षदेखि अत्यन्त सकारात्मक पहल भइरहेको छ । भारतबाट उर्जाको क्षेत्रमा ठूलो लगानी भइरहेको छ । १० हजार मेगावाटमा हामीले एग्रिमेन्ट गरेका छौं,’– उनले भने ।

उर्जामन्त्री दीपक खड्काले भारतीय निजी क्षेत्रलाई नेपालको उर्जा क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्नुपर्ने उनले बताए । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली भारत जानको लागि अहिले हतारिनु आवश्यक नरहेको उनले बताए । प्रधानमन्त्री बन्नेवित्तिकै बेइजिङ र दिल्ली जान आवश्यक नरहेको उनले बताए । ‘प्रधानमन्त्री किन कुदेर बेइजिङ र दिल्ली जानुपर्ने ? मैले त कारण नै देख्दिनँ । अहिले प्रधानमन्त्रीको भारत भ्रमण हुनुपर्छ जस्तो लाग्दैन मलाईं । उहाँ जानेवित्तिकै ब्रेकथ्रु हुने कुनै त्यस्तो काम छैन,’– उनले भने ।

प्रधानमन्त्री ओलीको भारतसँग व्यक्तिगत सम्बन्ध भने राम्रो नरहेको उनको दाबी छ । डा.कर्णले प्रधानमन्त्री ओलीले सडकबाट कूटनीति गर्ने प्रयत्न गरेको उनले बताए । ‘कूटनीति सडकमा गर्ने विषय होईन । कूटनीति टेबलमै गर्ने हो । राजनीति सडकमा गर्ने हो । हामीकहाँ राजनीति त सडकमा छदै थियो, कुटनीति पनि सडकमा भयो । नेपाल भारतको बीचमा केही समस्या छन् भने वार्ता गर्ने हो, संसद्मा, सडकमा जे पायो, त्यही बोलेपछि अप्ठ्यारो हुन्छ । आफ्ना कुराहरुलाई तयारीका साथ अर्को पक्षसँग नेगोसेशन गर्न सकिन्छ । जे पायो त्यही बोलेर सम्भव छैन,’– उनले भने ।