मन्त्री अधिकारीको दाबीः भूमिसम्बन्धी अध्यादेश ल्याउन प्रचण्डको पनि हात छ


काठमाडौं, २९ माघ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमिसम्बन्धी अध्यादेश ल्याउन पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को हात रहेको बताएका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दैै उनले आफू पूर्वप्रधानमन्त्री प्रचण्डको क्याविनेटमा मन्त्री रहेको बेला नै अहिलेको अध्यादेशको अभ्यास भएको बताएका हुन् । तत्कालीन प्रधानमन्त्री प्रचण्डले भूमिसम्बन्धी समस्या समाधानमा चासो देखाउँदा आफूले अध्यादेशको बाटो सुल्झाएको र त्यसबेले प्रचण्डले अगाडि बढ्न भनेको उनले सुनाए । प्रचण्डले अहिले अध्यादेशको विरोध गर्नु ठीक नहरको मन्त्री अधिकारीको भनाइ छ ।

‘उहाँ प्रधानमन्त्री हुँदा उहाँको क्याविनेटमा म मन्त्री थिएँ । उहाँ आफैं हो भन्ने– बलरामजी समस्या जटिल भएर आए । सहकारी समस्या, हल गर्न सकिएन, भूमिको समस्या हल गर्न सकिएन । के गर्नपर्छ भनेपछि मैले यो–यो गर्नुपर्छ भनेको थिएँ । बहुत राम्रो आइडीया ल्याउनुभयो, यसलाई अगाडि बढाउनुस् भन्ने मान्छे उहाँ नै हो,’– उनले भने ।

साथै, उनले भूमिसम्बन्धी अध्यादेश र गिरीबन्धु टी स्टेटको जग्गामा कुनै सम्बन्ध नरहेको बताए । मन्त्री अधिकारीले प्रचण्डले अहिले हचुवाको भरमा, सतही कुरा बोलिरहेको आरोप लगाए । ‘कहाँ गिरीबन्धु टी स्टेट यो अध्यादेशमा जोडिएको छ ? पहिला त्यो हेर्नुपर्यो नि ? हामीसँग बहस गर्न आउनुपर्यो, छलफल गर्न आउनुपर्यो । बाहिर–बाहिर हल्ला गरेर हुन्छ ?’ प्रश्न गर्दै उनले भने, ‘उहाँ प्रमुख प्रतिपक्षी दलको नेता, पूर्वप्रधानमन्त्री, राज्यका समस्याहरुमा छलफलबाट समाधान निकाल्नुपर्ने व्यक्ति, हचुवाको भरमा, हल्लाको भरमा, सतहीमा उहाँले बोल्ने हो ? त्यो अध्यादेशमा गिरीबन्धु टी स्टेटलाई जग्गा दिने कुरा, सार्वजनिक जग्गा वितरण गर्ने कुरा त्यो कहाँ छ मलाई देखाउनुपर्यो नि ।’