अध्यादेशलाई देखाएर जसपा नेपालले बार्गेनिङ गरेको छैन, गम्भीरता र संवेदनशीलतालाई डाइभर्ट गर्न भ्रम फैलाइयोः राजकिशोर यादव


काठमाडौं, २९ माघ । जनता समाजवादी पार्टी (जसपा) नेपालका वरिष्ठ उपाध्यक्ष राजकिशोर यादवले आफूहरुले अध्यादेशको विषयलाई लिएर मधेश प्रदेशको मुख्यमन्त्री र संघीय सरकारमा मन्त्री नमागेको दाबी गरेका छन् । उपाध्यक्ष यादवले भूमिसम्बन्धी अध्यादेशको गम्भीरता र संवेदनशीलतालाई डाइभर्ट गर्न पद खोज्यो भनेर भ्रम फैलाइएको बताएका हुन् । अध्यादेशलाई देखाएर जसपाले बार्गेनिङ गरेको भन्ने कुरामा कुनै सत्यता नरहेको उनले बताए ।

‘यो एक प्रकारको प्रोपोगाण्डा चलाइएको हो । यसमा कुनै सत्यता छैन । विषयको गम्भीरता, संवेदनशीलतालाई डाइभर्ट गर्नका लागि हामीलाई एक प्रकारको घेराबन्दी बनाइएको हो । त्यो भन्दा अरु केही पनि होईन,’– उनले भने ।

अध्यादेश ल्याउँदा सरकारले आफूहरुसँग कुनै छलफल र सल्लाह नगरेको उनले बताए । नेता यादवले सरकारले अध्यादेश कार्यसूचीमा राखेको खण्डमा अध्यादेशको पक्ष वा विपक्षमा उभिने निर्णय सार्वजनिक गरिने उनले बताए ।

‘अध्यादेश सरकारले ल्याएको हो, त्यो कसरी पास हुन्छ ? पहिलो दायित्व सरकारको हो । सरकारले कुनै सरसल्लाह गरे, छलफल गरेर अध्यादेश ल्याएको होईन । सरकारले जुन दिन कार्यसूचीमा राख्छ, त्यो दिन हामी आफ्नो निर्णयअनुसार अगाडि बढ्छौं । हामीसँग कुनै सरसल्लाह, छलफल गरेको होईन,’– उनले भने ।