काठमाडौं, ३० माघ । जनता समाजवादी पार्टी (जसपा) नेपालका वरिष्ठ नेता एवं राष्ट्रिय सभा सदस्य मृगेन्द्रकुमार सिंह यादवले सरकारले ल्याएका अध्यादेशको गुण र दोषको आधारमा समर्थन र विरोध गरिएको बताएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले गुण र दोषकै आधारमा सरकारले ल्याएको ५ वटा अध्यादेशमा समर्थन गर्ने र भूमिसम्बन्धी अध्यादेशमा विरोध गरेको बताएका हुन् । उनले आफूहरुले अध्यादेशलाई लिएर सत्ताको बार्गेनिङ नगरेको बताए ।
‘बार्गेनिङ गरेको भए अरु ५ वटा अध्यादेशमा पनि हामी भन्थ्यौं नि ? हामीले मागेको उपप्रधानमन्त्री दिएन, मुख्यमन्त्री दिएन भने त हामी त्यो ५ वटा पनि समर्थन गर्थ्यौं नि । तर, हामीले गुण र दोषको आधारमा समर्थन र विरोध गरेका हौं,’– उनले भने ।
संविधान संशोधन, सुशासन र देशमा स्थिरताको लागिमात्रै आफूहरुले सरकारलाई समर्थन गरेको उनले बताए । तर, सरकारलाई समर्थन गरेको छ भन्दैमा सबैकुरा मान्न नसकिने उनले बताए । ‘हामीले सरकारलाई बाहिरबाट समर्थन गरिरहेका छौं । संविधान संशोधन गर्छौं, सुशासन ल्याउँछौं, देशमा स्थिरता ल्याउँछौं भनेर हामीले समर्थन गरेका हौं । भूमिसम्बन्धी अध्यादेशका विभिन्न व्यवस्थाहरु दुरुपयोग हुनसक्छ,’– उनले भने ।
पञ्चायतकालदेखि अहिलेसम्म भूमिहीन, सुकुम्बासीलाई भनेर ३ लाख ५६ हजार विघा जग्गा बाँडिएकोमा वास्तविक लक्षित वर्गले पाउन नसकेको उनको भनाइ छ । क–कसले जग्गा पाएको हो ? त्यो कुरा सरकारले सार्वजनिक गर्नुपर्ने उनले बताए ।




प्रतिक्रिया