काठमाडौं, ३० माघ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री डिगबहादुर लिम्बूले सरकारमा गएका मन्त्रीहरुले सम्पत्ति सार्वजनिक नगरेर नैतिक दायित्वसमेत पूरा नगरेको टिप्पणी गरेका छन् । आज (बुधबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सम्पत्ति सार्वजनिक गर्नुपर्ने नैतिक दायित्व भएपनि मन्त्रीहरु यसमा चुकेको बताएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेको ७ महिना भएपनि मन्त्रिमण्डलमा रहेका सदस्यहरुले अहिलेसम्म सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् ।
‘सरकारमा गएका मन्त्रीहरुले आफ्नो सम्पत्ति विवरण दिने कुरा नैतिक दायित्व हो । नैतिक दायित्वभित्र बस्ने कुरा हो । अब सम्पत्ति विवरण देखा, देखा भनिरहने कुरा होईन । मेरो पोजिसन यो छ है भनेर सार्वजनिक गर्ने कुरा सबैको दायित्व हो । त्यौ नैतिक दायित्वभित्र सबैले बस्नुपर्छ भनेर हामीले भनिरहेकै छौं,’– उनले भने ।
साथै, उनले फरक प्रसंगमा अहिलेको राजनीति बुढाखाडाहरुकै हातमा रहेको बताए । संसदीय व्यवस्थामा संख्याको आधारमा राजनीति चल्ने बताउँदै उनले त्यो संख्या सबै दलमा बुढाखाडा नेताहरुकै हातमा रहेको बताए । आफूहरुले गगन थापालाई कांग्रेस संसदीय दलको नेता बनाउन अगाडि बढाएपनि मत परिवर्तन हुन नसकेको उनले बताए ।
‘सबै पार्टीमा त्यही बुढाहरुसँग नै संख्या छ । के गर्नु त संख्या उनीहरुसँगै छ । विकल्प भनेर हामीले खोज्यौं, तपाईँलाई थाहा छ त । तर, हामीले विकल्प दिन सकेनौं । सख्ंया शेरबहादुरसँगै छ । विस्तारै–विस्तारै विधि प्रक्रिया मिलाएर उनीहरुलाई विदा दिने कुरा आउँछ । हामीले त गगन थापाजीलाई संसद्को नेताको रुपमा उभ्यायौं त । तर, जनमत त आउन सकेन । टाउको ठोकेर हुँदैन,’– उनले भने ।




प्रतिक्रिया