काठमाडौं । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहकी दिदी रीता सिंह जोडिएको बालमन्दिरको जग्गा हिनामिना प्रकरणमा राष्ट्रिय मानवअधिकार आयोगले अनुसन्धान सुरू गरेको छ । आयोगका प्रवक्ता तथा सहसचिव टीकाराम पोखरेलले एक विज्ञप्ति जारी गर्दै अनुसन्धान सुरु गरिएको जानकारी दिएका छन ।
नेपाल बाल सङ्गठनको जग्गा भाडामा लगाउँदा भएको अनियमिततामा तत्कालीन अध्यक्ष रिता सिंह वैद्यको संलग्नता रहेको तर सत्ता र शक्तिको आडमा निजउपर मुद्दा नचलाउने भनी सरकारी वकिल कार्यालय, काठमाडौँले निर्णय गरेको भनी विभिन्न पत्रपत्रिकामा प्रकाशित समाचारप्रति अधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
आयोगले उक्त घटनाको स्व–विवेकीय क्षेत्राधिकार प्रयोग गरी छानविन तथा अनुसन्धान प्रारम्भ गरेको जनाएको छ । आयोगले उच्च सरकारी वकील कार्यालय पाटन र जिल्ला सरकारी वकील कार्यालय काठमाडौँलाई निर्णयको प्रतिलिपि तथा केन्द्रीय अनुसन्धान ब्यूरो, महाराजगञ्जलाई अनुसन्धान मिसिलको प्रतिलिपि सात दिन भित्र उपलब्ध गराउन पत्राचार गरेको आयोगले जनाएको छ ।
यसअघि पूर्वअध्यक्ष रीता सिंह वैद्यसहित २० जनाविरुद्ध पक्राउ पुर्जी पनि जारी भएको थियो । तर पक्राउ गर्नुको साटो सिंहलगायतलाई सत्ताको आडमा उन्मुक्ति दिईएको छ । उनीमाथि मुद्दा नचलाउने निर्णय सरकारी वकिलको कार्यालयले गरेको छ । सो निर्णय महान्यायाधीवक्ताको कार्यालयले सदर गर्ने तयारी गरेको छ ।





प्रतिक्रिया