भूमिसम्बन्धी अध्यादेश असफल बनाउँदैनौंः लोसपा नेता चौधरी (भिडिओसहित)


काठमाडौं, २ फागुन । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका नेता एवं प्रतिनिधि सभामा संसदीय दलका प्रमुख सचेतक रामप्रकाश चौधरीले भूमिसम्बन्धी अध्यादेश संशोधनसहित पास हुने बताएका छन् ।

आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफूहरुले राखेको असहमतिमाथि छलफल गरेर संशोधनसहित अध्यादेश पारित गरिने बताएका हुन् ।

‘असहमतिमा हामीसँग पनि छलफल गरेर जानुपर्छ । अध्यादेश पास हुन्छ, जुन किसिमले बाहिर हल्ला छ, यसमा संशोधन गरेर अध्यादेश कानुनको रुपमा पास हुन्छ । फेल गराउने हाम्रो नीति छैन । संख्या पनि अरुले हल्ला गरेजस्तो छैन । कुराहरु मिलेपछि पुगिहाल्छ,’– उनले भने ।

भूमिसम्बन्धी अध्यादेशमा राष्ट्रपति रामचन्द्र पौडेलले पहिला नै आशंका व्यक्त गरिसकेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसलाई प्रतिस्थापन विधेयकमार्फत संशोधन गरिने कुराको विश्वास दिलाइसकेको उनले बताए ।