काठमाडौं, २ फागुन । नेपाली कांग्रेस संस्थापनपक्षीय नेताहरुको बैठकले सरकारले ल्याएको अध्यादेश राष्ट्रिय सभाबाट स्वीकृत गराउन वैकल्पिक उपाय खोज्ने निर्णय गरेको छ । सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले भूमिसम्बन्धी अध्यादेशमा असहमति जनाएको थियो । सत्तारुढ दलको असहमतिसँगै राष्ट्रिय सभाबाट अध्यादेश पारित हुने अवस्था छैन । अध्यादेश राष्ट्रिय सभाबाट अस्वीकृत भएको खण्डमा सरकार गम्भीर नैतिक एवं राजनीतिक संकटमा पर्न सक्छ ।
नेपाली कांग्रेसबाट राष्ट्रिय सभामा संसदीय दलका नेता रहेका कृष्णप्रसाद सिटौलाको पहलमा पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा भएको बैठकमा वैकल्पिक उपायको रुपमा माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) सँग अध्यादेशमा सहयोग माग्ने निर्णय भएको हो । राष्ट्रिय सभाबाट अध्यादेश पारित गराउन अहिले ३ सिटको कमी छ । एकीकृत समाजवादीको राष्ट्रिय सभामा ८ सिट रहेको छ ।
यतातिर सभापति देउवा पनि अध्यादेशको विषयलाई लिएर एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग छलफल गर्न तयार रहेको बताइएको छ । अध्यादेशमा एकीकृत समाजवादीलाई कन्भिन्स गराउन सकिएको खण्डमा वर्तमान सरकारको आयु लम्बिने देउवाले बुझेका छन् । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनलाई फोन गरेर वाम एकताबारे गरेको कुराकानीले ओली–प्रचण्ड फेरि मिल्ने हुनकी भन्ने आशंका देउवामा पलाएको छ ।
प्रचण्ड–ओली फेरि मिलेको खण्डमा मुखैमा आएको प्रधानमन्त्री पद गुम्ने चिन्तामा रहेका देउवाले अध्यादेश पारित गराउने भरमग्दुर प्रयत्न गर्ने तयारी थालेका छन् । यतातिर प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एकीकृत समाजवादीका अध्यक्ष नेपाल त्यति सन्तुष्ट छैनन् । पटक–पटक सहमतिमा धोका दिएको, देशमा विभिन्न ठाउँका कार्यकर्ताहरुलाई पार्टी एकता हुँदैछ भनेर अहिले नै माओवादीमा भित्र्याएको, प्रधानमन्त्री हुँदा प्रचण्डले आफूलाई भाउ नदिएको लगायतका विषयमा नेपाल प्रचण्डसँग रिस फेर्ने दाउमा छन् । यस्तो परिस्थितिलाई नजिकबाट नियालेका देउवाले अध्यादेशमा एकीकृत समाजवादीको साथ खोज्ने निर्णय लिएका हुन् ।




प्रतिक्रिया