काठमाडौं, २ फागुन । नेपाली कांग्रेसले राष्ट्रिय सभाबाट अध्यादेश स्वीकृत गराउन नेकपा (एकीकृत समाजवादी) को साथ माग्ने भएको छ । आज (शुक्रबार) शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको कांग्रेस संस्थापन पक्षीय नेताहरुको बैठकले एकीकृत समाजवादीसँग अध्यादेश स्वीकृत गराउन सहयोग माग्ने निर्णय गरेको हो । सत्तासाझेदार दलहरु लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल र जनता समाजवादी पार्टी (जसपा) नेपालले भूमिसम्बन्धी अध्यादेशमा असहमति जनाएसँगै राष्ट्रिय सभाबाट अस्वीकृत हुने निश्चित छ । यस्तो अवस्थामा अध्यादेश स्वीकृत गराउने विकल्पको रुपमा कांग्रेस नेताहरुले एकीकृत समाजवादीलाई उपयुक्त विकल्प रोजेका हुन् ।
यता, एकीकृत समाजवादीका उपाध्यक्ष जगन्नाथ खतिवडा भने अध्यादेशमा आफूहरुको समर्थन नरहने बताउछन् । नेता खतिवडाले अध्यादेशमा अहिलेसम्म कांग्रेस नै प्रष्ट नरहेको बताए । कांग्रेससँग छलफल नै हुन नसक्ने भन्ने नभएपनि यथास्थितिमा अध्यादेश स्वीकार गर्न नसकिने उनले बताए ।
‘अध्यादेशमा कांग्रेसको धारणा के हो ? सरकारमा छ, प्रधानमन्त्रीले जबरजस्ती ल्याउनु भएको हो कि कांग्रेसको सहमतिमा अध्यादेश ल्याउनु भएको हो ? कांग्रेसले यही कुरा प्रष्ट बोलेको छैन । जसको धारणा प्रष्ट छैन, त्योसँग छलफल गर्नुको पनि मतलब के हुन्छ ? अध्यादेश ल्याएर सरकारले ठीक गर्यो कि बेठीक गर्यो ? उसलाई के लागेको छ ? हामीलाई त बेठीक लागेको छ,’– नेता खतिवडाले रिपोर्टर्स नेपालसँग भने ।
जबरजस्त संसद्लाई छलेर ल्याएको अध्यादेशको पक्षमा बस्न नसकिने उनको धारणा छ । अहिले अध्यादेश ल्याउनुपर्ने कुनै कारण नै नरहेको उनको दाबी छ । ‘अध्यादेश स्वीकृत गर्ने मामलामा सहयोग गर्दैन । विधेयकमा छलफल गर्नु, कानुन बनाउनु सांसदहरुको सार्वभौम अधिकार हो । उनीहरुको अधिकारलाई छलेर, सांसद बैठक बस्नु केही दिन अघि अध्यादेश ल्याउनुपर्ने कुनै कारण थिएन । आजको यो अवस्थामा अध्यादेश ल्याएको कुराप्रति हाम्रो असहमति छ,’– उनले भने । File Photo/RN




प्रतिक्रिया