काठमाडौं,३ फागनु । गृहमन्त्री रमेश लेखकले सरकारले ल्याएको अध्यादेश संघीय संसद्को दुवै सदनबाट स्वीकृत हुने वातावरण निर्माण भइसकेको दाबी गरेका छन् । आज (शनिबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दल बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले प्रतिस्थापन विधेयकमा सबैको भावना समेट्ने सहमतिसहित सबै अध्यादेश स्वीकृत हुने वातावरण बनेको बताएका हुन् ।
‘प्रतिस्थापन हुन्छ, हामी सहमति गरेर जान्छौं । भूमिसम्बन्धीमा प्रतिस्थापन गर्दा सबैको भावना समेटिने गरी अगाडि बढ्छौं । अब अध्यादेशको प्रक्रिया अगाडि बढ्छ, आज हाम्रोबीचमा हाम्रो जुन सहमति भएको छ, त्यही सहमतिअनुुसार अगाडि बढ्छ, अध्यादेश स्वीकृत हुन्छ,’– सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै गृहमन्त्री लेखकले भने ।
सत्तारुढ गठबन्धन दलको आजको बैठकमा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव सहभागी थिएनन् । यादव काठमाडौं बाहिर भएको हुनाले सहभागी नभएको पनि गृहमन्त्री लेखकले बताए । अध्यादेशको सम्बन्धमा उपेन्द्र यादव र राजकिशोर यादवसँग फोनमै वार्ता भएको उनले बताए । जसपा नेपालसँग पनि सहमति भइसहेको उनको दाबी छ । ‘उपेन्द्रजी र माननीय राजकिशोरजीसँग फोनमै वार्ता भएको छ । काठमाडौं बाहिर भएर आफैं उपस्थित हुन पाउनु भएन । उहाँहरुसँग पनि कुरा भइसकेको छ । अब सहमति भएको छ । त्यो सहमतिअनुसार नै अगाडि बढ्छौं, अध्यादेश स्वीकृत हुन्छ,’– उनले भने ।
अध्यादेश आगामी फागुन ६ गते संसद्मा पेश गरिने पनि उनले जानकारी गराए । ‘राष्ट्रिय सभा ६ गते छ । राष्ट्रिय सभा ६ गते भएको हुनाले सम्भवतः त्यसैदिन प्रस्तुत हुन्छ,’– उनले भने । File Photo/RN




प्रतिक्रिया