काठमाडौं, ४ फागुन । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओली प्रश्नबाट भागेको टिप्पणी गरेका छन् । आज (आइतबार) संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग संवाद गर्दै उनले आफूले जनताको भाग्य, भविष्यसँग जोडिएको प्रश्न सोध्दा प्रधानमन्त्री ओली प्रश्नबाट भागेको बताएका हुन् ।
‘प्रधानमन्त्रीजीले आफ्नो गरिमा बिर्सिनु भएको छ । प्रश्नबाट भाग्नु भएको छ । त्यो प्रश्न मेरो प्रश्न थिएन । नेपाली जनताको प्रश्न थियो । नेपाली जनताको भविष्यसँग जोडिएको प्रश्न थियो,’– उनले भने ।
उनले सभामुख देवराज घिमिरेले अभिभावकीय भूमिका निर्वाह गर्न नसकेको पनि बताए । साहले प्रधानमन्त्री ओलीलाई सोधेको प्रश्नमा अवैध हुण्डी कारोबार, वैदेशिक रोजगारीको नाममा भइरहेको युवा पलायन, वैदेशिक रोजगारीमा युवाहरुले भोग्नु परेको समस्या, लक्ष्यअनुसार राजश्व उठ्न नसक्नुको कारण, देशको प्रतिष्ठामा आँच आउनेगरी प्रधानमन्त्रीले नै बोलेको लगायतको आरोपहरुसमेत समावेश थियो ।
राजधानी जोड्ने सबै राजमार्गहरु अस्तव्यस्त रहेको र वासविहीनहरुलाई घर बनाउन सुरक्षित आवास भनेर सरकारले जम्मा ७५ हजारमात्रै दिएर मजाक गरेको उनले प्रश्न उठाएका थिए ।
प्रधानमन्त्री ओलीले अध्यक्ष साहको प्रश्नहरु अपमानजनक रहेको बताए । उनले संसद्जस्तो गरिमामय ठाउँमा अपमानजनक भाषा प्रयोग गरेको भन्दै उनले प्रश्नको उत्तर दिन आवश्यक नै नरहेको जवाफ दिएका थिए । File Photo/RN




प्रतिक्रिया