राष्ट्रपति र प्रधानमन्त्रीले आईसीयुमा भएका मन्त्री पौडेल र मेयर आचार्यलाई भेट्नु गलत भयोः एमाले नेता अधिकारी (भिडिओसहित)


काठमाडौं, ५ फागुन । नेकपा (एमाले) का नेता एवं गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले सुरक्षा प्रोटोकललाई ध्यान दिन नसक्दा पोखरा भ्रमण वर्ष उद्घाटन कार्यक्रममा दुर्घटना भएको बताएका छन् । आज (सोमबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सुरक्षा प्रोटोकल र व्यवस्थापकीय कमजोरीका कारण उक्त घटना भएको बताएका हुन् ।

उक्त घटना हुँदा त्यहाँ सहभागी रहेको नेता अधिकारीले भने, ‘स्वीच दवाएर पानसजस्तै बत्ती बाल्ने काम भयो । त्यो भन्दा पहिला नै हाइड्रोजन ग्यास भरिएका बेलुनहरु उडाएर त्यसपछि बत्ति बालेको भए हुन्थ्यो । बत्ति बालेर बेलुन उडाउँदा आगलागी भयो । त्यहाँ दुई जनामात्रै अटाउने ठाउँ थियो । हामी पनि नअटाएपछि फर्कियौं, जल्नबाट बच्यौं । सुरक्षाकर्मी त्यहाँ जान अटाउन सकेन । यस्तो खालको बेलुन नजिक राख्ने डिजाइन भयो । यो आफैंमा बेठीक रहेछ भन्ने कुरा परिणामले देखायो ।’

उद्घाटनका क्रममा बेलुनमा आगलागी हुँदा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य जलेर घाइते भएका थिए । उनीहरुको अहिले काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ । नेता अधिकारीले उपचारको क्रममा रहेका मन्त्री पौडेल र मेयर आचार्यलाई भेट्न प्रधानमन्त्रीदेखि राष्ट्रपतिसम्म गइरहनु आवश्यक नरहेको बताए । हिजो राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलगायतका नेताहरु कीर्तिपुरस्थित बर्न अस्पताल पुगेर अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई भेटेका थिए ।

उक्त कार्यको विरोध गर्दै नेता अधिकारीले भने, ‘उपचार भइरहेको बेला हाम्रो देशको राष्ट्रपति र प्रधानमन्त्रीज्यूहरुले चासो राख्नु स्वाभाविक नै हो । उहाँहरु नै त्यसरी आईसीयुमा गइरहनुपर्छ भन्ने मान्यता हामीले जुन खडा गर्न खोजिरहेका छौं, त्यो ठीक होईन भन्ने मलाई लागेको छ । प्राविधिक, चिकित्सकहरुले काम गर्ने कुरामा हामीले मनोबल बढाइदिनेमात्र हो ।’