जनकपुर क्षेत्रको १२ सय बिघा जग्गा लुट्ने नेताहरुको नाम सार्वजनिक गरिदिने सांसद झाको चेतावनी


काठमाडौं, ५ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं प्रतिनिधि सभा सदस्य मनिष झाले जनकपुर क्षेत्रका १ हजार २ सय जग्गा हिनामिना गरेर खाने नेताहरुको नाम सार्वजनिक गरिदिने चेतावनी दिएका छन् । आज (सोमबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले स्थानीय जनप्रतिनिधि, ठेकेदार, दलाल सबै मिलेर जनकपुर क्षेत्रको १ हजार २ सय विघा जग्गा लुटिएको बताएका हुन् ।

‘अहिले १४ सय विघामा २ सय विघामात्रै बाँकी छ । पुराना दलका सबै नेता, त्यहाँको स्थानीय जनप्रतिनिधि, ठेकेदार, दलाल सबै मिलेर १२ सय विघा लुटिसक्यो । त्यससम्बन्धी यहाँ मैले पटक–पटक आवाज उठाउँदै गर्दापनि विभिन्न चरणमा हामी सरकारमा हुँदैगर्दा त्यसको खोजतलास गर्नका लागि कमिटी र प्रतिवेदनमा पनि हामीले काम गरेका थियौं । अहिले वर्तमान सरकारलाई ध्यानाकार्षण गराउन चाहन्छु,’– उनले भने, ‘म आफैं पनि त्यसमा काम गर्दैछु र आगामी बैठकमा कुन–कुन नेताले कति–कति जग्गा लिएको छ भन्ने जानकारी लिएर उपस्थित हुनेछु ।’